दार्चुला : गाउँघरमै सेवा दिने उद्धेश्यले दार्चुलाको अपिहिमाल गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । अपिहिमाल गाउँपालिकाको सहयोगमा नेपाल फार्मेसी संघ सुदूरपश्चिम र सीपी अस्पताल धनगढीको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । उक्त शिविर ४ दिनसम्म संचालन हुनेछ ।
बैशाख ४ गतेसम्म संचालन हुने शिविरमा स्वास्थ्य सम्बन्धी सबै सेवा निःशुल्क रुपमा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । शिविरमा महिला रोग सम्बन्धी विशेष उपचार तथा परामर्श सेवा, दन्त उपचार सेवा र अन्य सामान्य चेकजाँचहरु गरिने जनाइएको छ ।
यस्तै पहिलो दिन चैत ३० गते अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ ओखलमा शिविर संचालन गरिएको थियो । उक्त शिविरमा ४२ पुरुष र ६५ महिला गरी १ सय ७ जनाले स्वास्थ्य सेवा लिएको नेपाल फार्मेसी संघका केन्द्रीय सदस्य एवं शिविर संयोजक नवीन धामीले जानकारी दिए । स्वास्थ्य शिविर २, ३ र ४ गते अपिहिमाल गाउँपालिका वडा नम्बर ४ खण्डेश्वरीमा संचालन गरिनेछ । सडक सञ्जाल नजोडिएको अपिहिमालका दुर्गम बस्तीमा शिविर संचालन भएपछि स्थानीयहरु खुसी भएका छन् ।