काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले दार्चुलाका विकट क्षेत्रमा बाटो नहुँदा स्थानीयले सास्ती पाएको बताएका छन् । बिहीबार बसेको समितिको बैठकमा उनले सो कुरा बताएका हुन् ।
आफू दार्चुलाको दुर्गम क्षेत्रमा स्थलगत भ्रमण गर्दा अपि हिमालको फेदमा बसेका बासिन्दालाई जिल्लाको सदरमुकाम आउन समेत भारतको बाटो प्रयोग गर्नु परेको, जाडोयाममा तातो ठाउँमा बसाइँ सर्दा भेडा च्याङ्ग्रा भारतबाट अनुमानि लिएर नेपाल आउनुपर्ने दुःखद अवस्था रहेकोप्रति ध्यानाकर्षण गराए ।
विगतमा नेपालकै भूभागमा घोडेटो बाटो रहेपनि हाल त्यसको अस्तित्व नरहेकोले आफ्नै भूमिको बाटो प्रयोग गरि तत्कालका लागि घोडेटो बाटो बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका छन् । साथै त्यो बाटोका लागि आगामी आर्थिक वर्षमा बजेट ब्यवस्था गर्नपनि आग्रह गरे।
उनले भने, ‘दार्चुला जिल्लाको सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका हुँदै व्यास गाउँपालिका टिंकरसम्म जुन महाकाली करिडोर बन्दैछ । त्यसमा कम्प्लिट गर्न झन्डै ५ वर्ष अरु लाग्छ भन्ने छ । व्यास गाउँपालिकाको अपि हिमालको साइटमा हाम्रा दाजुभाईहरु बस्नुहुन्छ ।
शरणको लागि याक, च्याँग्राहरु त्यो माथिल्लो भेगबाट हरेक वर्ष हिउँ पर्नु भन्दा पहिला बेँसीमा झार्नुपर्ने हुन्छ, त्यही एउटा गोरेटो बाटो थियो । भूकम्प, जैविक प्रकोपका कारण क्ल्याप्स भएको छ । उतातिर चाइना पर्दो रहेछ, यतातिर भारत पर्दो रहेछ, त्यो ट्रयाक झन्डै ५ वर्ष भइसक्यो अहिले बन्द भएको छ ।
अहिले त्यहाँ हिउँ पर्ने बेलामा चरणमा गएका पशुधन र मानिसहरु भारतमा गइ फेरि दार्चुलामा आउनुपर्ने अवस्था रहेछ । त्यसताका धेरै नै दुःख, कष्ट र अपहेलनँ भारतबाट पाउने रहेछन् । त्यो ट्रयाकलाई मर्मत गरी त्यहाँका दाजुभाईहरु त्यहीँबाट आउने व्यवस्था गर्न आवश्यक छ ।
अपि हिमालको बेसमा बसेका जनतालाई सदरमुकाममा आउने व्यवस्था यो ट्रयाक चाँडो भन्दा चाँडो यही वर्ष भित्रमा खोलिदिनको लागि पहिलो प्राथमिकताका साथ काम अघि बढाउन र यो बजेटमा रकम विनियोजन गर्न अनुरोध गर्दछु ।’