दार्चुला– छन्नातिंकरी कन्या माविमा स्थापना गरिएको हर्षित बालिका अक्षय कोषमा सहयोग गर्नेहरु बढ्दै गएका छन् । विद्यालयमा अध्ययन गर्ने गरिब, अतिविपन्न, अनाथ तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक विकासमा टेवा पुगोस् भन्ने उद्धेश्यले स्थापना गरिएको उक्त अक्षय कोषमा अहिले सहयोग गर्नेहरु बढिरहेको विद्यालयका प्रधानाध्यापक गिता कुँवरले जानकारी दिए । विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले आफ्नो जन्मोत्सवका दिन विद्यालयमा स्थापना भएको हर्षित अक्षय कोषमा केहि रकम जम्मा गर्ने गरेको उनले बताए ।
यसैबीच उक्त कोषमा एकै दिन २० हजार ३ सय ६७ रुपैयाँ सहयोग रकम जुटेको छ । बिहीवार सोही विद्यालयमा आयोजित राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसमा उपस्थिति अतिथिहरुबाट सहयोग रकम जुटेको हो ।
हर्षित बालिका अक्षय कोषमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको तर्फबाट रु ५ हजार, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्कराज पन्तबाट ५ हजार ५५५, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तबाट ५ हजार ५००, जिल्ला हुलाक कार्यालयका निमित्त हुलाक अधिकृत महेश राज ओझाबाट २ हजार ५ सय ५७, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका कार्यरत खरिदार धाना कार्कीबाट १ हजार २०० र छन्ना तिंकरी कन्या माविका शिक्षक ईन्द्रराज भट्टबाट ५ सय ५५ रुपैयाँ सहयोग स्वरुप प्राप्त भएको विद्यालयका प्रधानाध्यापक गिता कुँवरले बताए ।
सुरुमा ५० हजार २०० जम्मा गर्दै स्थापना गरिएको हर्षित बालिका अक्षय कोषमा आजका मितिसम्म १ लाख ४६ हजार ३ सय ८२ रुपैयाँ पुगेको बताइएको छ ।
हर्षित बालिका कोष विद्यालयका प्रधानाध्यापक गिता कुँवरका छोरा हर्षित जोशीका नामले स्थापना गरिएको हो ।