नेपाल–भारत सीमा पुल लालीमा राखियो राष्ट्रिय झण्डा

दार्चुला– लेकम गाउँपालिका–३ लालीस्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा राष्ट्रिय झण्डा राखिएको छ । आइतवार दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको उपस्थितिमा लाली सीमा पुलमा राष्ट्रिय झण्डा राखिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले सशस्त्र प्रहरी तैनाथ सीमा पुलहरुमा नेपाली झण्डा राख्ने जनाएको छ । भारतपट्टि पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आफ्नो देशको झण्डा राखेकाले नेपालपट्टि पनि झण्डा राख्ने कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्कराज पन्तले जानकारी दिए । सीमा नाकामा झण्डा राख्न माथिल्लो निकायमा रिपोर्टिङ गरेर अनुमति पाएसँगै झण्डा राखिएको उनले बताए । झोलुङ्घे पुल सुरक्षार्थ सशस्त्र प्रहरी खटिएको ठाउँमा राष्ट्रिय झण्डा राखिने बताइएको छ ।

दार्चुलाको व्याँस गाउँपालिका–२ मालघाट, व्याँस गाउँपालिका–४ मलघट्टे, महाकाली नगरपालिका–४ पुलघाट, महाकाली नगरपालिका–९ दत्तु, मालिकार्जुन गाउँपालिका–७ जोलजिवी र लेकम गाउँपालिका–३ लालीमा झोलुङ्गे पुल सुरक्षार्थ सशस्त्र प्रहरी खटिएको छ । आइतवार प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा राखिएको हो ।

Leave A Reply

Your email address will not be published.