दार्चुला– दार्चुलामा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको आईपिभी खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लामा जेठ १३ गतेदेखि जेठ १९ गतेसम्म अभियान संचालन गरेर बालबालिकालाई पोलियोविरुद्धको आईपिभी खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
विं सं २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो । नेपालमा २०७३ जेठदेखि २०७५ असोजसम्म आईपिभी खोपको अभाव भएको थियो ।
२०७३ बैशाखदेखि २०७५ असोजको बीच जन्म भई उक्त खोप लगाउन छुटेका बालबालिकालाई मात्र खोप लगाउने स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर बिरेन्द्र भट्टले बताए ।
दार्चुलामा ६ हजार ६ सय ४५ बालबालिकालाई खोप लगाइने जनाइएको छ । खोप लगाउन दार्चुलामा ३ सय ५६ ओटा खोप केन्द्र निर्धारण गरिएको छ ।
मुखबाट खुवाइने पोलियो खोप (ओपिभी) नियमित खोप सेवाको माध्यमबाट ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई र सुइबाट दिइने खोप (आईपिभी)नियमित खोप सेवाको माध्यमबाट १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ ।
सबैभन्दा बढी ५ वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट संक्रमित हुन सक्ने भएकाले अनिवार्य रुपमा पोलियोविरुद्धको खोप लगाउनुपर्छ । खोप अभियानका लागि जिल्लास्तरीय खोप समन्वय समितिको बैठक बसेको र अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।