संरक्षणको पर्खाइमा पुरातात्विक श्रीमहल उकु–महल दार्चुला

नरेन्द्र सिंह धामी /दार्चुला
दार्चुला– सुदुरपश्चिम प्रदेश दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका–६ उकुमा रहेको पुरातात्विक महत्व बोकेको श्रीमहल अध्ययन, अनुसन्धान र संरक्षण सम्वद्धनको पर्खाइमा रहेको छ । महाकाली नदीको बायाँ किनारामा उकु उपत्यकामा ठुलो संख्यामा कलात्मक शीलाहरु, विभिन्न् देवी–देवताका मुर्तिहरु, आमलक, शिखर(गजुर) का अर्ध भागहरु ढुंङ्गेधारा, नाक वसाह, सिंह, चक्रशिलतासहित थरीथरीका आकृतिहरु विभिन्न शिलाहरुमा कुदिएकाछन ।

यी कलात्मक शिलाफलकहरु महाकाली नदिको तट्देखि उकु गाँउको सिरानसम्म फैलिएकाछन । नेपालको मानचित्रमा २९.४३,५०उत्तरी अक्षांस र ८०.२२,३१, पुर्वी देशान्तरमा समुद्रसतहदेखि ७२५ मिटरको उचाइमा यो पुरातात्विक स्थल रहेको छ । भारतबाट बगेर आउने गोरीनदि र नेपाल भारत सिमा भएर बग्ने महाकाली नदिको संगमस्थल जोलजिवि बजारवाट ४ कि.मी. दक्षिण महाकाली नदिकोबायाँ किनारमा रहेको उकुफाँटको सिरानमा ठूलोभग्नावशेष रहेको छ । स्थानीयहरुले यस भग्नावशेषलाई श्रीमहल मालिकार्जुन भन्ने गर्दछन ।

पुरातत्विक महत्व बोकेको श्रीमहल सँग सम्बन्धित विभिन्न विषयहरु लिखित तथा अलिखित रुपमा प्रस्तुत हुन आएका छन् । समय समयमा नेपाल तथा भारतका ईतिहाकारहरुले यस सम्बन्धी विवरण आफ्नो अध्ययनमा समेटेका छन्।

एकथरी सोधकर्ताहरुका अनुसार १२ औँ शताब्दिको मध्यतिर तिब्वतको खारी प्रदेशबाट आएका नागराजले जुम्लाको सिंजामा राजधानी बनाई जुम्ला राज्यको स्थापनागरेपछि मात्र पश्चिम नेपालको इतिहासबारे जानकारी प्राप्त हुनआएको देखिन्छ । नागराज पछि क्राचल्ल र अशोकचल्लका पालामा खस साम्राज्यको निकै विस्तार भएका थियो ।

तिनका पालामा खस साम्राज्य पूर्वमा गण्डकी, पश्चिममा कुमाउ गढुवाल, उत्तरमा तिब्बत र दक्षिणमा बोधगयाँसम्म फैलिएको थियो। सम्भवत त्यसबेला उकु भेगपनि खस साम्राज्यको अभिन्न अंगकोरुपमा रहेको हुनुपर्दछ । त्यसैगरी खस सम्राट पुण्य मल्लले वि.स. १३९४ मा उकुको जग्गा आफ्ना हितैसी विद्याधर पण्डितलाई भुमिदान दिएको अभिलेख पाइएका छ । यस भन्दा अगाडी अशोक चल्लको समयमा (वि.स. १३१२–१३३५) बैतडी दार्चुला कर्ण महामण्डलिकले प्रशासन चलाएको प्रमाण भेटिएकोछ । पृथ्वीमल्लका पालामा डोटीका सामन्त नीरयपालले सिंजाको केन्द्रीय सत्ताबिरुद्ध बिद्रोह गरेकाथिए । कतिपय खोजकर्ता विद्वानहरुले नीरयपालका पालामा डोटीको राजधानी उकुमै रहेको उल्लेख गरेका छन ।

त्यसको वैज्ञानिक पुष्टि हालसम्म पनि हुनसकेको छैन । यस्तै अर्कोथरी सोधकर्ताहरुका अनुसार खसराज्यको पतनहुन लागेपछि कत्युर (कुमाउ )बाट पालहरु हालको दार्चुला जिल्लाको डाँडाकोट (पुरानो सनेतकोट) भन्ने ठाँउमा आएरबसे । डाँडाकोटमा पालराजाका तीनभाई छोराहरुभए । ती मध्ये शाहीपाल देथला, श्रीपाल उकुर भैरवपाल अस्कोटमा गएर ।

अस्कोट हाल उकुको ठिकपारी भारतमा पर्दछ । डाँडाकोट बाट नै उकुमा आवाद भएको अनुमान गरिन्छ र कालान्तरमा राज्यशासन उकुबाट सञ्चलन गरेको पाईन्छ । प्रमाणिक रुपमा भन्नुपर्दा रजवार भारतीपाल उकुका राजाथिए । इतिहाँस अध्ययनका क्रममा भेटिएको सन् १३९४ र सन् १४२० को ऐतिहासिक ताम्रपत्रले रजवार भारतीपालको शासनलाई प्रमाणित गर्दछ । सन् १४२० को सिलोनी ताम्रपत्रले भारतीपाललाई उकुको राजाभएको प्रष्टपारेको छ ।

रजवार भारतीपाल शाके १३१६ (सन् १३९४) को ताम्रपत्रले नागमल्ल र विक्रमपाल लाई पुर्ववर्ति राजामानेको छ । नीरयपालकोऐतिहासिक अभिलेख डोटी, डडेलधुरा, पिथौरागढ, डिडिहाट र अल्मोडामा पनि भेटिएको अभिलेख अनुसार नीरयपालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ को ऐतिहासिक ढुङ्गा भेटिएको थियो । यी सबै ऐतिहासिक कालक्रमहरु समान देखिएकोले नीरयपालको ऐतिहासिकता र राज्यकाल बारे शंकागर्ने ठाउँ छैन ।

नीरयपाललाई उकुअस्कोटका राजा भनिएको छ । बिभिन्न ठाउँहरुमा पाईएको ऐतिहासिक अभिलेखहरुले नीरयपाल शक्तिशाली राजा भएको संकेतगर्छ र जसको राज्य केन्द्र महाकाली किनारमा अवस्थित उकु भएको कारणले यो स्थलको महत्वलाई बेवस्ता गर्न सकिन्न । नीरयपाललाई उकुका रजवार भारतीपालका पूर्ववर्ति रजवार थिएभन्ने कालक्रमहरुले प्रष्ट पारेकोछ । नेपाली इतिहाँसमा उपलब्ध तथ्य अनुसार नागपाल वा नागमल्ल नीरय पालका सुपुत्र थिए । उकुको ईतिहाँस सम्बन्धि एउटा लेख अनुसार उकु महलमा रहेको हरिहर मन्दिर नागपालका तीन रानीहरुले निर्माण गरेका हुनभन्ने उल्लेख गरेको पाईन्छ ।

रानीहरु बेतल्लदेवी, सोमल्लदेवी र लोमल्लदेवी हुनुहुन्थ्यो। नागपाल राजा भएपछि नागपाल बाट नागमल्ल बनेको ईतिहासमा उल्लेखछ । नागमल्ल डोटिका राजथिए र यसको राजधानी हालको डडेलधुरा जिल्लाको अजयमेरुकोटमा रहेको थियो । नागमल्लको राज्यकाल लगभग सन् १३८४ देखि सन् १३९३ सम्म रहेको थियो । यसलाई आधारमान्ने होभने माथि उल्लेख गरिएको उकुको हरिहर मन्दिर नागमल्लको राज्यकाल भित्र बनेकोहुनुपर्छ । मन्दिर स्थापना बारेको स्पष्ट तिथी मिति भने नेपालको इतिहासमा पाईदैन ।

तर पालबंशहरुका भारतीय शोधकर्ताहरुले उकुराज्य अभयपालले स्थापना गरेको बताएका छन् । यसको स्पष्ट प्रमाणको रुपमा शाके ११६० (सन् १२३८) को उकुको शिलालेख हो भनिएको छ । अजमेरुकोटमा भेटिएको राज नागमल्ल (पाल) अभिलेख र उकुको शिलालेखमा उल्लेख नागमल्लको कालक्रममा १५० वर्ष भन्दा बढ़ीको अन्तर देखिन्छ । यी दुबै जना एउटै ब्यक्ती होइन्नभन्ने यसबाट प्रष्टहुन्छ ।

त्यसैले विभिन्न समयमा निर्माण भएका यहाँ पाईने ऐतिहासिक संरचना र वस्तुहरु विगतको इतिहाससँग मेलखाने देखिन्छ । अर्काथरी सोधकार्ताहरुका अनुसार सम्भवत उकुमा रहेका संरचनाहरु खस साम्राज्यका क्राचल्ल अशोकचल्ल वा प्रारम्भिक पाल शासकको पालामा निमार्ण भएको देखिन्छ । १४/१५औँ शताब्दि तिर उत्तराञ्चलको पहाडी उपत्यका पिथौरागढलाई नियन्त्रणमा लिन बैतडीका बमहरु, उकुका पालहरु र चम्पावतका चन्दहरुको बिचमा टक्कर पर्नेगरेको बद्रिदत्त पाण्डेले कुंमाऊको इतिहाँसमा उल्लेखगरेबाट त्यतिवेला नै उकु एउटा महत्वपूर्ण प्रशासनिक केन्द्रको रुपमा रहेको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

हाल उकु क्षेत्रमा यत्रतत्र छरिएर रहेका मुर्ति, शिला, कलाकृति र भग्नावशेषको अध्ययन गर्दा १४/१५ औँ शताब्दितिर बनेको भव्य मन्दिर भग्नावशेष हो भन्ने अनुमान लगाउनसकिन्छ । उकु फाँटको सिरानमा करिब २००–३०० रोपनी क्षेत्रफलमा फैलिएको मालिकार्जुन गाउँपालिकाले २०७६/०७७ मा कम्पाउण्डवाल लगाएर घेरेको पुरातात्विकस्थल, त्यसको ५० मीटरतल खुलाचौरमा भग्नावशेषको रुपमारहेका ढुंङ्गाका वस्तु अवयवहरु नै यँहाका मुख्य पुरातात्विक वस्तुहरुहुन ।

यहाँ छरपस्ट भएर रहेका, पल्टिएका र गडेका प्रस्तर कलाका नमुनाहरु यत्रतत्र छरिएर रहेकाछन । उकुफाँटकोसिरानमा मात्रै नभएर महाकाली नदिको किनार, मानबहादुर पाल र गणेशबहादुर पालको आँपबगैचा र सैपाल महादेव मन्दिर परिसरमा समेत उकुका भग्नावशेषका वस्तु अवयव र मुर्तिहरु छरिएर रहेका छन ।यो क्षेत्रको अध्ययन गर्दा त्यहाँ कुनै भग्नावशेष नभई कुनै कालखण्डमा उकुकै भग्नावशेषबाट त्यहाँ लगेर राखेको अनुमान लगाउन सकिन्छ । उकु भग्नावशेषको कला, वस्तुकला तथा मुर्तिहरु हेर्दा यहाँ भब्य देवलका साथैअन्य स–साना देवलहरुको समुह रहेको हुनुपर्ने सहजै अनुमान गर्न सकिन्छ ।

भग्नावशेषमा भेटिएका विभिन्न देवी देवताका मुर्तिहरु र भब्य वास्तुकला तथा अन्य अवयवको आधारमा यो अनुमान लगाउन सकिन्छ । नेपाल पुरातत्व विभागद्वारा दार्चुला जिल्लाका पुरातात्विक सम्पदाहरुको सुचिकरणमा उकु पुरातात्विक स्थललाई ’क’ वर्गको सम्पदा सुचीको रुपमा बर्गिकरण गरिएतापनि सरकारले हालसम्म पनि यसको विस्तृत अध्ययन अनुसन्धान अन्वेषण र विकासको लागि ठोस कार्ययोजना नबनाउँदा यस्तो प्राचीन पुरातात्विक महत्वको सम्पदा ओझेलमा परेको छ ।

देशमा संघीयता आएपछि २०७५/०७६ मा मालिकार्जुन गाउँपालिकाले उकु महल वरपर महाकाली नदि किनारा, सैपाल महादेव मन्दिर वरपर तथा मानवहादुर पाल र गणेशवहादुर पालको आँपवगैचामा यत्रतत्र छरिएर रहेका कलात्मक मुर्तिहरु शिलालेखलाई नम्बरिङ सहित संकालनगरी उकुमहलमा सुरक्षित राखेकोछ । यद्धपी सबै सम्पदाहरु राख्न सकिएको छैन । भारतको उत्तराखण्ड राज्यको कुमाऊ मण्डलसंग दार्चुला जिल्लाको सिमाना जोडिएको छ ।

उत्तरखण्डमा कत्युरी साम्राज्य थियो भन्नेकुरा भारतको ईतिहाँसहरुले पुष्टि गरेकाछन्। तत्कालिन डोटि राज्यमा पनि कत्युरी साम्राज्यको प्रभाव रहेको देखिन्छ । कुमाऊमा भेटिएका पुरातात्विक संरचना र डोटी राज्य अन्तर्गत भेटिएका अजमेरुकोट, उकु मन्दिरको निर्माण प्रक्रिया एकै प्रकारको रहेको तत्कालिन कुमाऊमा यस्ता अनगिन्ती पुरातात्विक महत्वका क्षेत्रहरु भेटिएकाछन् । जसले यो मन्दिर पनि ११ औं शताब्दि तिर निर्माण भएकोथियो भन्नेकुरा विभिन्न समयमा लेखिएका पुस्तकहरुले देखाएकाछन् तर अचार्य शिवप्रसाद डवरालको “उत्तराखण्डको ईतिहास” भन्ने पुस्तकमा भएको कुरा उल्लेख गरिएको छ ।

यस्तै प्रकारका मन्दिरहरु अल्मोडा कटारमलको सुर्य मन्दिर अलमोडाकै जागेश्वर मन्दिरको विषयमा राहु साकृत्यायनले आफ्नो “मेरी जीवन यात्रा” नामक पुस्तकमा उल्लेख गरेका छन्। स्थानीय तहमा मालिकार्जुन गाउँपालिकाले यस ऐतिहासिक तथा सांस्कृतक पुरातात्तिक महत्वको उकु महल र यस सँग जोडिएका धार्मिक विषय हरको अध्ययन गर्न गराउन विगत वर्षहरुमा पहल गर्दै आएको छ ।

२०७६/०७७ मा संघीय सरकार पुरातत्व विभागको स्वीकृतिलिई मालिकार्जुन गाँउपालिकाले उकु महललाई केन्द्र बनाई ३०० मीटर क्षेत्रफलमा कम्पाउण्डवाल लगाएर पुरतात्विक सम्पदाहरु संरक्षण गरेकोछ । साथै मालिकार्जुन गाँउपालिकाले नै २०७७/०७८ मा भग्नावशेष उकु महलको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयारगरि संघीय सरकार र प्रदेश सरकार समक्ष पेशगरिसकेको भएतापनि हालसम्म संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले कुनै कार्ययोजनामा राखेकोछैन ।

यसको अध्ययन, अनुसन्धान, अन्वेषणका र संरक्षणका लागि स्थानीय सरकारको स्रोतबाट मात्रै सम्भव नहुनेहुदा संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्दा खासै सुनुवाई भएकोछैन । आ.व. २०७७ ÷०७८ र २०७८/०७९ मा संघीय सरकार पुरातत्व विभागलेकेही बजेट विनियोजन गरेपनि यहाँको रकमलाई अन्यत्र रकमान्तरगरी खर्चगरेको कार्य प्रतियसक्षेत्रको तर्फबाट दःख व्यक्त गर्दछौ। यस पुरातात्विक सम्पदाको अध्ययनका लागि योगी नरहरीनाथ, नवराज अधिकारी, प्रकाश खड्का र भास्कर ज्ञवाली लगायतका विज्ञ अधिकारीहरुबाट अध्ययन सकेको छ । उकु महलकोयोगी नरहरी नाथले पहिलो अध्ययन गरेका थिए ।

उनको “सन्धिपत्र संग्रह” भन्नेपुस्तकमा यसबारेका केही तथ्यहरु उल्लेख गरेकाछन् । जसमा नागपाल राजाले आफ्ना रानीहरुको सुन्दरताको विषयमा बखान गरेका कुरा उल्लेख गरेकाछन् । उनले अध्ययन गरेको शिलालेख अहिले संरक्षणको अभावमा मेटिदै गएकोछ । आजभोली पढनसक्ने अवस्थमा रहेको छैन ।

उनले उक्त शिलालेखको लिपी रन्जना लिपी भएकोभनि उल्लेख गरेकाछन्। नेपाल पुरातत्व विभागका पुरातत्व विद् नवराज अधिकारीले २०६३/०६४ मा दार्चुलामा पुरातात्विक स्थलहरुको अध्ययन गर्ने क्रममा उकु दरवारको विषयमा पनि अध्ययन गरेकाथिए । उक्त अध्ययन पश्चात उकु भग्नावशेषलाई “क” बर्गको साईटमा वर्गीकरण गरेकोछ । दोश्रो पटक २०७२ मा पनि उहाँले स्थलगत अध्ययन गर्नुभएको छ । उहाँको अध्ययन प्रतिवेदनमा उकु मन्दिरको केहि खम्वाहरुमा ध्यान मुद्रामा रहेको भगवानको बुद्ध चित्र कुदिएको पाईएको छ । जसले त्यो बेलामा कत्युर राज्य र डोटी राज्यमा बुद्ध र शैव दुबैप्रति सद्भाव राख्ने गरेको देखिन्छ ।

उकु दरवारमा बिशेषगरि भगवान विष्णु र भगवान शिवका मुर्तिहरु कुदिएका छन् । यी पुरात्वात्तिक सम्पदाहरुको अध्ययन, अनुसन्धान, अन्वेशण र उत्खनन् गर्नसके दार्चुला जिल्लाको छुटै ऐतिहाँसिक पहिचान स्थापितहुने देखिनुका साथै भोली पर्यटकीय क्षेत्रहरु बढ्ने सम्भावना रहने र भविष्यका पीडीका लागि पनि मार्गदर्शक हुनेहुदा यस पुरातात्विक सम्पदाको अध्ययन अनुसन्धान र पुर्ननिर्माणका लागि पुरातत्व विभागले उच्च प्राथमिकतामा राखि कार्यसंचलान गर्न आवश्यक देखिन्छ । ईतिहासकारहरुका लागि गहन अध्ययनको विषयबस्तु रहेको तत्कालिन अवस्थामा नेपाल भारत सम्बन्ध सामाजिक महत्व धार्मिक तथा सांस्कृतिक विषय वस्तुहरुको अमूल्य निधि रहेको यस श्री महलको महत्वको अध्ययन अनुसन्धान साथै संरक्षण हुन सकिएमा ऐतिहासिक तथा धार्मिक पर्यटनको रुपमा विस्तार भई यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।

राज्यका अनूल्य निधिको रुपमा रहेको ऐतिहासिक धार्मिक साँस्कृतिक धरोहरहरुको अध्ययन, अनुसन्धान गरी त्यसको प्रचार प्रसार गर्ने र एतिहासिक धार्मिक तथा सास्कृतिक पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्नै कार्यमा संघीय, प्रादेशिक तथा स्थानीय सरकारको ध्यान प्ुग्न सकेमा भौतिक पूर्वाधारहरु विकास हुदै गएको यस क्षेत्रमा दिगो विगकासका लागि आवश्यक रोजगारीका अवसरहरु श्रृजना हुने प्रर्याप्त सम्भावना रहेका छन ।

अतः उकु उपत्यका का वास्तुहरुको विस्तृत अभिलेखिकरण गरि भारत उत्तराखण्डको केहि स्मारक क्षेत्रहरुको तुलनात्मक अध्ययनगरेर ऐतिहासिकता सम्बन्धि नवीन तथ्यहरुको, खोजीगर्न सकिने देखिन्छ । पुरातात्विक वास्तुहरुको थुप्रो बनेररहेको उकु महलको जमीनको तल्लो भागमा के होला ? भन्ने आशंकाको निवारणका लागि उत्खनन्को आवश्यक्ता महसुसहुन्छ ।

उत्खनन् बाट त्यस स्थानमा भौतिक संरचना भए नभएको कुरा पत्ता लगाउन सकिनेछ । यदि भौतिक संरचनाको तल्लोभाग मात्र भेटीएको खण्डमा यस सम्बन्धि थुप्रै रहस्यहरु उदघाटित हुनेछन । प्राप्त वास्तुहरुको विस्तृत अध्ययन् पछि ड्रइङ– डिजाइन बनाई सुर्खेत काँक्रेबिहार जस्तै एउटा मन्दिरको स्वरुपदिन सकिने सम्भावना प्रसस्त छ ।

उकु उपत्यकाका उपयुक्त वास्तुहरुको प्राथमिक अध्ययन वाट कलात्मक शिलाको आकृति–प्रकृति अनुरुप बिभिन्न समुहमा वर्गिकरणगरि सबैलाई जोडेर एउटा पर्यटकीय मन्दिर÷संग्रालयको प्रस्तावना अगाडी बढाई त्यसलाई मूर्तरुप दिनसकिन्छ । अतः यसकालागि प्राथमिक चरणका कार्यहरु विस्तृत अध्ययन, अनुसान्धान अन्वेषण, उत्खनन्, अभिलेखिकरण गरि मन्दिर एवं संग्रालयका रुपमा सुरक्षित राख्नसकिनेब्यवस्थाका लागि सम्बन्धित निकायहरुको ध्यान जानुपर्ने देखिन्छ ।  लेखक– मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष एंव नेपालि कांग्रेश नेता नरेन्द्र सिंह धामी  ।

Leave A Reply

Your email address will not be published.