काठमाडौं- बैतडीमा प्रधानाध्यापकको कुटपिटबाट एक छात्रा घाइते भएकी छन्। जिल्लाको सिगास गाउँपालिकास्थित भूवनेश्वरी माविका प्रधानाध्यापक बिरेन्द्रसिंह धामीले केही दिन अगाडि कक्षा ९ मा अध्ययनरत छात्रा सँगितालाई कुटपिट गरेका हुन्।
धामीको कुटपिटबाट घाइते सँगितालाई डडेल्धुरा अस्पतालमा उपचारका लागि ल्याइएको थियो। तर उनको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी ल्याइएको छ।
शौचालय जाँदा प्रधानाध्यापक धामीले कुटेर छोरी घाइते भएको उनका ठूल्बबा जगदिश धामीले बताए। उनका अनुसार अहिले आफ्नी घाइते छोरीको मायामेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको छ।
सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीका सहोदर भाईसमेत रहेका प्रधानाध्यापक धामी विगतदेखि नै विवादित मान्छे हुन्। पहिलेदेखि कयौंपटक प्रहरी फन्दामा परेका उनले अहिले पनि उपचार खर्च दिने भन्दै घटना टाल्न खोजिरहेको बताइएको छ।
यता प्रहरीले भने सो विषयमा लिखित उजुरी नपरेको तर घटनाको विषयमा अनुसन्धान गर्ने काम भइरहेको जनाएको छ।