बैतडीको भुवनेश्वरी मावि खैरकोटका विद्यार्थीमा ‘मास हिस्टेरिया’ देखिएपछि पठनपाठन प्रभावित

काठमाडौं– बैतडीको सिगास गाउँपालिका–५ मा रहेको भुवनेश्वरी मावि खैरकोटमा विद्यार्थीहरुमा देखिएको ‘मास हिस्टेरिया’ अर्थात ‘कन्भर्जन डिसअर्डर’ को समस्याले विद्यालयको वातावरण प्रभावित बन्न पुगेको छ । विगत लामो समयदेखि किशोरीहरुमा देखिएको यस्तो समस्याले पठनपाठन प्रभावित बन्न पुगेको विद्यालयले जनाएको छ ।

विद्यालय उमेरका केही किशोरीहरु एक्कासी काम्ने, जमिनमा लछारपछार गर्ने, चिच्याउने, मुर्छा पर्ने, लगायतका लक्षण देखिने गरेका छन् । दिनैपिच्छे किशोरीहरुको समुह एकैसाथ यस्तो लक्षण देखाउदा विद्यालयको वातावरण प्रभावित बन्न पुगेको छ ।

दैनिकजसो हुने यस प्रकारको घटनाले विद्यार्थीहरुको मनोविज्ञानमा असर परेको छ । ‘दिनदिनै किसोरीेहरु काम्ने गरेका छन्, लछारपछार गर्छन, केही लडेर घाइते समेत भए, यस्तो समस्या देखिएपछि पढाइ नै हुदैन, सबै कक्षा प्रभावित हुन्छन्,’ कक्षा १० का छात्र बसन्त धामीले भने ।

विद्यालयमा किशोरीहरु काम्ने समस्या विगत एक दशकदेखि कायमै रहेको विद्यालयका प्रधानाध्यापक बिरेन्द्र धामीले जानकारी दिए । करिब एक दर्जन किशोरीहरुमा यस्तो लक्षण देखिने गरेको उनले बताए । ‘यस्तो समस्या १०र१२ वर्षदेखि नै हो, गर्मीयाममा यस्तो लक्षण बढी देखिने गर्दछ,’ प्रधानाध्यापक धामीले भने । प्रत्येक शैक्षिक सत्रको बैशाखदेखि असोजसम्म नियमित विद्यालयको वातावरण प्रभावित हुने गरेको उनले बताए ।

किशोरीहरु समुहमै एकै पटक काम्ने, रुने, लछारपछार गर्ने र दगुर्ने गरेका कारणले केही किशोरीहरु घाइते समेत हुने गरेको विद्यालयले जनाएको छ । विद्यालय भिरमा रहेकाले ठुलो दुर्घटनाको जोखिम समेत रहेको छ ।

यसलाई स्वास्थ्यका दृष्टिले कन्भर्जन डिसअर्डर भन्ने गरिएको छ । कन्भर्जन डिसअर्डर अर्थात मास हिस्टेरिया एक प्रकारको मनोसामाजिक स्वास्थ्य समस्या हो ।

Leave A Reply

Your email address will not be published.