काठमाडौं– प्रिन्स दाहाल विश्व खेलकुदकै सबैभन्दा प्रतिष्ठित् बृहत् प्रतियोगिता ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपालका पहिलो ब्याडमिन्टन खेलाडी हुँदैछन्। तर, उनी प्रशिक्षकबिना नै पेरिस ओलम्पिक २०२४ मा खेल्नुपर्ने परिस्थिति सिर्जना भएको छ।
आईओसी (इन्टरनेसनल ओलम्पिकट कमिटि)ले पेरिस ओलम्पिक २०२४ को लागि खेलाडी र प्रशिक्षकको नाम दर्ता (लङ लिस्टको लागि) गर्ने अन्तिम मिति २८ मार्च, २०२४ तोकेको थियो। उक्त अवधिमा एनओसी (नेपाल ओलम्पिक कमिटि) ले ब्याडमिन्टन प्रशिक्षकको नाम नपठाउँदा प्रिन्सलाई प्रशिक्षकबिना नै ओलम्पिक खेल्नुपर्ने अवस्था आइपरेको हो।
‘प्रशिक्षकको नाम दिनको लागि नेपाल ब्याडमिन्टन संघलाई बारम्बार भनेका थियौं, तर संघले नाम दिएन,’ एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले भने, ‘त्यसैले हामीले पेरिस ओलम्पिक २०२४ को लागि ब्याडमिन्टन प्रशिक्षकको नाम दर्ता गर्न पाएनौं।’ जुनियरमा विश्व नम्बर १ भएका प्रिन्स २० वर्षयता ओलम्पिकमा प्रशिक्षकबिना प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुनेछन्।
१९ वर्षीय प्रिन्सले युनिभर्सालिटी कोटामा पेरिस ओलम्पिक खेल्ने लगभग डेढ महिनाअघि निश्चित भएको थियो। अहिले उनी राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक (ब्याडमन्टन) सुदीप योन्जन र इन्डोनेसियन प्रशिक्षक टोनी वाहयुदीसँग कोलम्बो, श्रीलंकामा ट्रेनिङ गरिरहेका छन्। उनी १० जुलाईमा स्वदेश फर्किनेछन्।
प्रिन्ससहित १० खेलका १० खेलाडीले ओलम्पिक छात्रवृत्ति पाएका थिए। प्रिन्स (ब्याडमिन्टन), पायस योन्जन (फेन्सिङ), सुयोग कपाली (टेबलटेनिस), युनिशा राई (तेक्वान्दो), दीपक लामा (बी बोइङ), सुवास तामाङ (गल्फ), मनिता श्रेष्ठ प्रधान (जुडो), सुस्मिता नेपाल (सुटिङ), नासिर याहया हुसैन (पौडी) र सागर भण्डारी (भारोत्तोलन) लाई ओलम्पिक छात्रवृत्तिअन्तर्गत दुई वर्षका लागि प्रशिक्षण र प्रतियोगिता खेल्न मासिक सात सय ५० अमेरिकी डलर दिइएको थियो।
त्यसमध्ये प्रिन्स, सुस्मिता र मनिताले ओलम्पिक खेल्ने अवसर पाएका छन्। टेबलटेनिसका स्यान्टु श्रेष्ठ छनोट पार गर्दै ओलम्पिक यात्रा तय गर्ने तेस्रो नेपाली भएका छन्। पौडीमा डुआना लामा र अलेक्जेन्डर शाह, एथलेटिक्समा धाविका सन्तोषी श्रेष्ठको पनि पेरिस यात्रा निश्चित भएको छ। त्यसैले पेरिस ओलम्पिकमा नेपालका सात खेलाडीले ६ खेलमा प्रतिस्पर्धा गर्ने छन्।
एथलेटिक्स र टेबलटेनिसमा पनि अनिश्चित
पेरिस ओलम्पिक २०२४ सुरु हुन एक महनिा पनि बाँकी छैन। तर, एथलेटिक्स र टेबलटेनिसमा पेरिस जाने नेपाली प्रशिक्षकको टुंगो अहिलेसम्म लागेको छैन।
‘संघले तोकिएको मितिभन्दा ढिला प्रशिक्षकको नाम दिए,’ एनओसी कार्यकारी सचिव श्रेष्ठले भने, ‘हामीले आईओसीलाई प्रशिक्षकको नाम दर्ता गरिदिन अनुरोध गरेका छौं, तर उसले मानेको छैन।’ एथलेटिक्समा कान्तिकुमारी यादव महतो र टेबलटेनिसमा राजेन्द्र कपाली सिफारिस गरिएको छ।
एनओसीले सम्बन्धित संघको सिफारिसमा पठाइका तीन खेलका प्रशिक्षकको भने पेरिस ओलम्पिकको यात्रा पक्का भइसकेको छ, जसमा पौडीकी नयना शाक्य, जुडोकी देवु थापा र सुटिङका प्रदीप खाती छन्।