काठमाडौं लगियो एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाका शव (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको सूर्यचौरमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाका पाँचै जनाको शव काठमाडौं लगिएको छ। बुधबार दिउँसो करिब २:२० बजे शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो।

उक्त हेलिकप्टर काठमाडौंबाट १स्५४ बजे रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो। काठमाडौंबाट उडेको तीन मिनेटमै एयरटावरसँग सम्पर्कबिच्छेद भएको थियो। त्यसको केही समयपछि हेलिकप्‍टर दुर्घटनामा परेको हो।

हेलिकप्टरमा रहेका चार जना चिनियाँ नागरिक र एक जना नेपाली पाइलटको मृत्यु भएको हो। मृतक क्याप्टेन अरूण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेइ जिमिङको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ।

उनीहरूको शव संकलन गरी शव बहानमा राखेर काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको पठाइएको छ।  पोस्टमर्टमका लागि शव त्रिवि शिक्षण अस्पताल पठाइएको हो। यसैबीच सरकारले एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ।

नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा गठन भएको आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले बताए।

तस्बिर : रातोपाटीबाट

Leave A Reply

Your email address will not be published.