नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार एकमात्र खेल हुँदैछ । उक्त खेलमा साविक विजेता लुम्बिनीलायन्सले विराटनगर किङ्सको सामना गर्नेछ ।
विराटनगर किङ्स र लुम्बिनी लायन्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिवा–रात्रिरूपमा १७:०० बजे शुरू हुनेछ । जारी सिजनको एनपीएलको यो २६औँ खेल हो ।
जारी एनपीएलको लिग चरणमा लुम्बिनी लायन्स र विराटनगर किङ्स दुवैले आफ्नो सातौँ तथा अन्तिम खेल खेल्न लागेका हुन् ।
अंक तालिकामा यी दुवै टोली फरक अवस्थामा छन् । लुम्बिनी लायन्स यसअघि प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेको छ । लुम्बिनी प्ले–अफ चरणमा पुग्ने पहिलो टोली पनि हो ।
अर्कोतिर, विराटनगर किङ्सको प्ले-अफ यात्रा अझै पनि अन्यौलमै छ । यो खेलमा विजयी भए विराटनगरको अगाडि बढ्ने सम्भावना बलियो बन्नेछ ।
तर, शनिबारको खेलमा लुम्बिनी लायन्ससँग पराजित भए विराटनगर किङ्स तेस्रो संस्करणको लिग चरणबाटै घर फर्कनेछ ।
लुम्बिनीले ६ मध्ये चार खेलमा जीत र एक खेलमा हारको नतिजा निकालेको छ । लुम्बिनीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । लुम्बिनी नौ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
विराटनगर किङ्सले भने ६ मध्ये तीन खेलमा जीत र तीन खेलमा हारको नतिजा निकालेको छ । विराटनगर ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ ।
सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स यसअघि नै प्ले–अफ चरणमा पुगिसकेकाले अब प्ले–अफ चरणमा पुग्ने दुई टोलीको मात्र टुंगो लाग्न बाँकी छ ।
बाँकी दुई स्थानका लागि काठमान्डु गोर्खाज, चितवन राइनोज र विराटनगर किङ्सबीच चर्को प्रतिस्पर्धा छ । एक खेल खेल्न बाँकी काठमान्डु आठ अंकसहित तेस्रो स्थानमा छ ।
यसैगरी, एक खेल खेल्न बाँकी चितवन राइनोज सात अंकसहित चौथो स्थानमा छ । लुम्बिनीविरुद्धको खेलमा विजयी भए विराटनगरको अंक आठ पुग्नेछ ।
यस्तो स्थितिमा प्ले–अफ चरणमा पुग्ने बाँकी दुई टोलीको टुंगो आइतबार हुने लिग चरणको अन्तिम दुई खेलबाट लाग्नेछ ।
जनकपुर बोल्ट्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । त्यसैले लुम्बिनीविरुद्धको खेलमा विराटनगर किङ्स ‘गर या मर’को स्थितिमा रहनेछ ।
लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा साविक उप–विजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो ।
लुम्बिनी र चितवन राइनोजबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो । लुम्बिनीले तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई आठ विकेटले हराएको थियो ।
लुम्बिनी लायन्सले आफ्नो चौथो खेलमा भने पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्समाथि १६ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
आफ्नो पाँचौँ खेलमा भने लुम्बिनीको टोली काठमान्डु गोर्खाजसँग ३६ रनले स्तब्ध: बनेको थियो । त्यसपछि छैटौँ खेलमा लुम्बिनीले कर्णाली याक्सलाई चार विकेटले हराएको थियो ।
यसैगरी, विराटनगर किङ्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको थियो । विराटनगर आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित भएको थियो ।
आफ्नो दोस्रो खेलमा पनि विराटनगर कर्णाली याक्ससँग चार विकेटले पराजित भएको थियो । त्यसपछि भने विराटनगरले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको थियो ।
आफ्नो तेस्रो खेलमा साविक उप–विजेता सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराएको विराटनगरले चौथो खेलमा पूर्वच्याम्पियन जनकपुर बोल्ट्सलाई दुई रनले स्तब्ध: पारेको थियो ।
पाँचौँ खेलमा काठमान्डु गोर्खाजसँग नौ विकेटले पराजित भएको विराटनगर किङ्सले आफ्नो छैटौँ खेलमा भने पोखरा एभेन्जर्सलाई चार विकेटले हराएको थियो ।
जारी सिजनको एनपीएलमा विराटनगर किङ्सले बनाएको उच्च स्कोर सात विकेट गुमाएर एक सय ८६ रन हो । कर्णाली याक्सविरुद्ध उक्त रन बनाए पनि विराटनगर पराजित हुन पुगेको थियो ।
यसैगरी, लुम्बिनी लायन्सले बनाएको उच्च स्कोर आठ विकेट गुमाएर एक सय ४९ रन हो । लुम्बिनीले यो स्कोर जनकपुर बोल्ट्सविरुद्ध बनाएको थियो ।
विराटनगर किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान लोकेश बम हुन् । उनले ६ खेलमा दुई अर्धशतकको मद्दतले दुई सय २७ रन बनाएका छन् ।
उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा छन् । शनिबारको खेलमा क्यारेबियन स्टार आन्द्रे रसेलको अनुपस्थिति विराटगरका लागि चिन्ताको विषय हुनेछ ।
लुम्बिनी लायन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान डार्शी सर्ट हुन् । उनले पाँच खेलमा एक सय तीन रन बनाएका छन् ।
लुम्बिनी लायन्सका लागि सर्वाधिक विकेट लिने बलर शेर मल्ल हुन् । उनले पाँच खेलमा नौ विकेट लिइसकेका छन् ।
विराटनगर किङ्सका लागि सर्वाधिक विकेट लिने बलर भने एन्लेजो म्याथ्यूज हुन् । उनले ६ खेलको पाँच पालीमा आठ विकेट लिएका छन् ।
एनपीएलको इतिहासमा लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच हालसम्म तीन पटक भिडन्त भइसकेको छ । त्यसमध्ये दुई खेलमा लुम्बिनी र एक खेलमा विराटनगर विजयी भएका छन् ।
सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणको लिग चरणमा विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई दुई विकेटले हराएको थियो ।
यसैगरी, सन् २०२५ मा आयोजित दोस्रो संस्करणको लिग चरणमा भने अघिल्लो हारको बदला लिँदै लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई पाँच विकेटले हराएको थियो ।
सोही संस्करणको दोस्रो क्वालिफायरमा पनि यी दुई टोलीबीच भिडन्त भएको थियो । त्यो खेलमा लुम्बिनीले विराटनगरलाई ४० रनले स्तब्ध: पारेको थियो ।
अब शनिबार हुने खेलमा लुम्बिनी लायन्स अर्को जितसँगै अंक तालिकाको पहिलो स्थानमा उक्लने धुनमा हुनेछ भने विराटनगर किङ्स प्ले–अफ सम्भावना बलियो बनाउने योजनामा ।
लुम्बिनी लायन्सको टोलीमा रोहितकुमार पौडेल, डार्शी सर्ट, आसिफ शेख, निरोसन डिकवेल्ला, दिलिप नाथ, समिम होसैन, रुवेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, किशोर महतो, तिलक भण्डारी लगायतका खेलाडी छन् ।
यसैगरी, विराटनगर किङ्सको टोलीमा सन्दीप लामिछाने, सेहन जयसूर्या, लोकेश बम, इमरान शेख, शुभम रञ्जने, एन्जेलो म्याथ्यूज, बसिर अहमद, नारायण जोशी, अपराजित पौडेल, रुपेश सिंह, प्रतिस जीसी, ईसुरु उडाना, चरिथ असलंकालगायतका खेलाडी छन् ।