दार्चुला– दार्चुलामा जीप दुर्घट्नामा परी दुई जना घाइते भएका छन् । आज दिउसो २ः१५ बजेतिर दार्चुला सदरमुकाम खलंगाबाट धौकोट जादै गरेको म १ ज २३९ नम्बरको जीप पल्टिदा जीपमा सवार महाकाली नगरपालिका–८ का ६८ वर्षिय कुडा देवी रैखोला र सोही ठाउँ बस्ने अन्दाजी ५० वर्षिय कम्मान सिंह भाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । खलंगाबाट महाकाली नगरपालिका–८ धौकोट तर्फ जादै गर्दा उक्त जीप अलैछौडा भन्ने ठाँउको कच्ची सडकमा अनियन्त्रित भई पल्टेको प्रहरीले जनाएको छ ।
जीपमा सवार ६ जना मध्ये दुई जना सामान्य घाइते भएको तथा उनीहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको बताइएको छ । घाइते कुडा देवी रैखोलाको छाती र पिठ्युमा तथा कम्मान सिंह भाटको बायाँ खुट्टामा चोट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव निरिक्षक केशव शर्माले जानकारी दिए । जीप चालक महाकाली नगरपालिका–८ असिगडाका २८ वर्षिय सुरेश सिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वका लागि किनमेल गरी घर फर्किरहेका उनीहरु दुर्घटनामा परेका हुन् । जिल्लाका विभिन्न स्थानीय तहका ग्रामिण (कच्ची) सडकहरुमा जीपहरुले क्षमता भन्दा बढी सवारीहरु बोकी रहेको स्थानीयहरुले बताएका छन्, यसले दुर्घट्नाको जोखिम निम्त्याएको पनि बताइएको छ ।