मालिकार्जुन गाउँपालिकाले भ्रमणमै गरे २५ लाख स्वाहा !

दार्चुला– मालिकार्जुन गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा जनप्रतिनिधि तथा कर्मचारीहरुको अनुगमन तथा भ्रमणमा २५ लाख रुपैया खर्च गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको अनुगमन तथा मुल्याङ्कन शीर्षकमा विनियोजन १० लाख तथा भ्रमण खर्चमा १५ लाख विनियोजन गरीएको २५ लाख रुपैया पुरै खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए ।

सो गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले गाउँपालिका भित्र र बाहिर भ्रमण गरी उक्त रकम सक्काएको मालिकार्जुन गाउँपालिकाका स्थानीयहरुले आरोप लगाएका छन् । जनप्रतिनिधि र कर्मचारीले विकासका काम कुरा भन्दा भ्रमण गरी वार्षिक ठुलो मात्रामा बजेट खर्च गर्ने गरेको उनीहरुले आरोप लगाएका हुन् ।

यस्तै गत आर्थिक वर्षमा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमका लागि विनियोजन गरेको ५ लाख रकम मध्ये १५ सय रुपैया बाहेक सबै खर्च गरेको छ । गाउँपालिका अध्यक्ष हिरा सिंह धामी अध्यक्ष रहेको दार्चुला विकास संगठनलाई उक्त कार्यक्रम दिएको मालिकार्जुन गाउँपालिका–३ का स्थानीयहरुले नाम नबताउने सर्तमा जानकारी दिए । हिरा सिंह धामी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए देखी सार्वजनिक सुनुवाई र सामाजिक परिक्षण लगायतका अन्य कार्यक्रमहरु दार्चुला विकास संगठनले प्राप्त गर्दै आएको उनको भनाई छ । गाउँपालिकाले एक वर्षको अवधिमा पत्रपत्रिका छपाई र सूचना प्रकाशनमा ५ लाख ४५ हजार ९८९ रुपैया खर्च गरेको जनाइएको छ । हिरा सिंह धामी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि मात्रै उनले दार्चुला विकास संगठनको अध्यक्षबाट राजिनामा दिएका थिए ।

यस्तै गत आर्थिक वर्षमा जनप्रतिनिधिले सार्वजनिक गाडीभाडामा लिइ प्रयोग गरेको तथा उक्त गाडी र ३ वटा एम्बुलेन्स संचालनका लागि इन्धन शीर्षकमा विनियोजित रकम १० लाख मध्ये ९ लाख ९७ हजार १२५ रुपैया खर्च गरेको छ । सार्वजनिक गाडीभाडामा लिए वाफत गाडीवालालाई भुक्तानी गरेको वार्षिक रकम भने खुलाइएको छैन् । आर्थिक वर्ष २०७९/०८० को गाउँपालिकामा महालेखापरिक्षकको कार्यालयले गरेको लेखापरिक्षण तथा कार्यालयको ६१ औं वार्षिक प्रतिवेदन अनुसार ३ करोड ७८ लाख बेरुजु देखिएको छ । उक्त प्रतिवेदन अनुसार गाउँपालिकाले गाडीभाडा वाफत वर्षमा ३० लाख ७१ हजार ५ सय रुपैया भुक्तानी गरेको छ ।

गाउँपालिकाले पूँजिगत शीर्षकबाट  १० लाख गाडीभाडा तिरेको पनि प्रतिवेदनमा उल्लेख छ । पुँजिगत बजेट भनेको गाउँपालिकाको विकासमा खर्च गरिने बजेट हो । यसैबिच आर्थिक वर्ष २०७९/०८० मा महालेखापरिक्षकको कार्यालयको प्रतिवेदनले गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामीले नियम विपरित बुझेको ४ हजार ८ सय रुपैया असुल गर्नुपर्ने देखाएको छ ।

अध्यक्ष धामीले पालिका आफैले बनाएको कार्य संचालन निर्देशिका विपरित दैनिक १६ सयको दरले ४ हजार ८ सय रुपैया भत्ता वाफत बुझेका छन्, जुन असुल गर्नुपर्ने देखिएको छ । गाउँपालिकाका अध्यक्ष धामी पछिल्लो समय स्थानीय मतदाताको नजरमा आलोचित हुदै आएका छन् ।

गाउँपालिकाले उपलब्त्ध गराएकाे खर्च विवरण
गाउँपालिकाले उपलब्त्ध गराएकाे खर्च विवरण
Leave A Reply

Your email address will not be published.