संविधान दिवसमा दार्चुलाका ४ सहित देशभरका ४९२ कैदी माफी पाएर रिहा हुँदै (सूचीसहित)

काठमाडौं– कारागार व्यवस्थापन विभागले संविधान दिवसको दिन कैदीबन्दीको कैदकट्टा गर्न सूची सार्वजनिक गरेको छ । उक्त सूचि अनुसार दार्चुलाबाट ४ जना कैदी छुट्दैछन् । कैद अवधिभर चालचलन असल रहेको तथा ४० प्रतिशत कैद भुक्तान भएको कैद कट्टा गर्न मापदण्ड पूरा गरेका विभिन्न मुद्दाका ४ जना कैदी छुट्न लागेका हुन् ।

संविधान दिवस २०८१ को अवसरमा अगामी असोज ३ गतेका दिन जिल्लाको मार्मा गाउँपालिका–५ साविक सितोला गाविस वडा नम्बर १ ठेगाना भएका कर्तव्य ज्यान मुद्दामा २०७२ साल कार्तिक १७ गते कैद परेका ७० वर्षिय गगने महर छुट्न लागेका हुन् । सोही वडाका गौर सिंह महरको जाहेरीले उनी पक्राउ परेपछि दार्चुला जिल्ला अदालतले मिति २०७२ चैत्र २४ गते कैद फैसला गरेको थियो । यस्तै कर्तव्य ज्यानकै अर्को मुद्दाका अपिहिमाल गाउँपालिका–५ का ३६ वर्षिय पुने भनेर चिनिने पुरन सिंह धामी पनि छुट्ने भएका छन् ।

सोही वडाका गोबडे टमटाको जाहेरीले पक्राउ परेका उनी २०७२ असार १४ गते कैदमा परेका थिए । यस्तै सवारी ज्यान मुद्दामा दार्चुला कारागारमा कार्यालयमा कैद भुक्तान गरिरहेका महाकाली नगरपालिका–५ का २० वर्षिय हिमांशु शाही र नकबजनी चोरी मुद्दाका महाकाली नगरपालिका–२ का २३ वर्षिय रमेश लोथ्याल छुट्ने भएका छन् ।
शाही २०७९ कार्तिक १५ गते तथा लोथ्याल २०७९ असोज २४ गते कैद परेका थिए । उनीहरु दुवै जनाले ५० प्रतिशत कैद भुक्तान गरिसकेका छन् । शाहीलाई ब्याँस गाउँपालिका–६ हुतीका धर्मे टमटाको जाहेरी तथा लोथ्याललाई महाकाली नगरपालिका–४ का हरक सिंह कुँवरको जाहेरी अनुसार पक्राउ गरिएको थियो ।

विभागले चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा गर्न सूची सार्वजनिक गरेको हो । ५० प्रतिशत कैद भुक्तान गरेका चार सय १९ जना, दुई जना जेष्ठ नागरिक र ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी जम्मा कूल चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा सिफारिस गर्न सूचना प्रकाशन भएको छ । सिफारिस भएका कैदीबन्दीको कैदकट्टा सिफारिस विरूद्ध कुनै उजुरी र गुनासो भएमा सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन सूचनामा भनिएको छ । यसअघि गत असार ९ गते पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारले सूचना जारी गरेको थियो । असार २८ गते प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाएका थिएनन् ।

असार ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका थिए । त्यतिबेला ५० प्रतिशत कैद भुक्तान गरेका पाँच सय ८६ जना, जेष्ठ नागरिक ३ जना र ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना गरी जम्मा छ सय २० जनालाई कैद भुक्तान गर्ने सात दिने सूचना निकालिएको थियो ।

दुवै सूचीको सूचनामा विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् । महानिर्देशक जयनारायण आचार्यका अनुसार वर्षमा चार पटक कैदकट्टा गरी कैदीबन्दीहरू छुट्ने गरेका छन् । यसअघि जेठ १५ मा गणतन्त्र दिवसका दिनमा कैदकट्टा गरी छाड्नुपर्ने भए पनि त्यतिबेला कैदीबन्दीहरू छुटेनन् ।

‘असारमा जारी भएको र अहिलेको एकैचोटी गर्ने भनेर हामीले पारदर्शीताका लागि सार्वजनिक गरेका हौं,’ उनले भने, ‘कुनै गुनासो वा उजुरी रहेछ भने विभागमा सम्पर्क गर्न सकिन्छ भनेर गरिएको हो ।’ गणतन्त्र दिवसको दिन छुट्न सिफारिस भएका छ सय २० जना र संविधान दिवसको दिनका लागि चार सय ९२ जना गरी जम्मा एक हजार एक सय १२ जनालाई छाड्ने विभागको तयारी छ ।

गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र दसैं–तिहारको बेलामा कैदीबन्दीहरू छाड्ने गरिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार कानुनमा केही संशोधन गर्नुपर्ने भएकोले गणतन्त्र दिवसका बेला कैदीबन्दी छुटेका थिएनन् । मन्त्रिपरिषदबाट राष्ट्रपतिसमक्ष सिफारिस पठाइसकेपछि संविधान दिवसका दिन एकैपटक एक हजार भन्दा बढी कैदीबन्दीहरू छुट्न लागेका हुन् ।

Leave A Reply

Your email address will not be published.