दार्चुला- मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले दार्चुलाको मालिकार्जुन गाउँपालिका–३, मडमा स्थानीयवासी तथा युवासँग विशेष अन्तरक्रिया गरेका छन्।
कार्यक्रमका क्रममा उनले राष्ट्रिय स्वाधीनता, स्थानीय विकास र युवाको भूमिकाबारे महत्वपूर्ण सन्देश दिएका छन्। डा. रावलले मुलुकको सीमा सुरक्षा, स्वाधीनता र राष्ट्रिय एकताका लागि सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन्। सुदूरपश्चिम र सीमावर्ती क्षेत्रहरूको संरक्षण र विकास राज्यको प्रमुख दायित्व रहेको उल्लेख गर्दै उनले राज्य गम्भीर हुनुपर्नेमा जोड दिए।
उनले छिमेकी मुलुकहरूसँगको सम्बन्ध सन्तुलित बनाउन कूटनीतिक तहमा थप सक्रियता आवश्यक रहेको बताए। डा. रावलले स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर विस्तारका लागि योजनाबद्ध पहल गर्नुपर्ने धारणा राखे। दुर्गम क्षेत्रको विकासका लागि सरकारी नीति र बजेटले प्राथमिकता दिनुपर्ने बताउँदै उनले स्थानीय स्तरमै विकासका सम्भावना खोज्नुपर्ने सुझाव दिए।
उनले विकास निर्माणमा पारदर्शिता र स्थानीय जनताको सक्रिय सहभागिता अनिवार्य हुनुपर्ने बताउँदै सरकारलाई न्याय, समानता, विकास र स्थायित्वमा केन्द्रित हुन सुझाव दिएका छन् डा. रावलले युवाहरूलाई विदेश जानु भन्दा स्वदेशमै उद्यमशीलता र नवप्रवर्तनतर्फ लाग्न प्रेरित गर्दै सीपमूलक शिक्षा, स्वरोजगार र स्टार्टअप प्रवद्र्धनका लागि नीति निर्माण गर्नुपर्ने बताए। उनले शिक्षित युवा पुस्ताले राजनीतिक सचेतना राख्दै समाज सुधार र राष्ट्रनिर्माणमा भूमिका खेल्नुपर्ने विशेष जोड दिए।
डा. रावलले राष्ट्रिय राजनीति राष्ट्रहित केन्द्रित हुनुपर्छ, व्यक्तिको वा दलको स्वार्थभन्दा माथि उठ्नुपर्ने धारणा राखे। उनले हालको राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै देशको विकास एजेन्डा ओझेलमा परेको बताए। उनले राष्ट्रको हितविपरीत कुनै पनि सम्झौता वा निर्णय नेपाली जनताले स्वीकार गर्न नहुने बताएका छन्।
डा. रावलले भ्रष्टाचार नियन्त्रणमा कठोर नीति अपनाउनुपर्नेमा जोड दिँदै सजग नागरिकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले राजनीतिमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सचेत नागरिकहरूले आफ्ना नेताहरूलाई जवाफदेही बनाउने संस्कार बसाल्नुपर्ने धारणा राखे।
छलफल कार्यक्रममा सहभागी स्थानीयवासी र युवाहरूले क्षेत्रको समग्र विकासका लागि सहकार्य आवश्यक रहेको बताएका थिए। उनीहरूले सरकारी लगानी र ध्यान अभावका कारण स्थानीय स्तरमा चुनौती बढेको भन्दै समाधानका लागि पहल गर्न अनुरोध गरे।
डा. रावलले मुलुकको समृद्धि र विकासका लागि सबै नागरिक आ–आफ्नो स्थानबाट जिम्मेवार बन्नुपर्ने बताउँदै सचेत युवाहरूलाई भविष्यका कर्णधारको रुपमा अघि बढ्न आग्रह गरे।