रावलको दाबी–‘एमाले अब एमाले नरही बामाले भइसकेको छ’
दार्चुलामा भीम रावलको घोचिलो टिप्पणी – ‘एमालेले आफ्नै विचारधारा छाड्यो’
दार्चुला – मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले नेकपा (एमाले) ले आफ्नो मूल विचारधारा परित्याग गरी ‘बामाले’ को रूप धारण गरिसकेको टिप्पणी गरेका छन्।
मंगलबार दार्चुलामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमाले अब आफ्नो मौलिक सिद्धान्तमा कायम नरहेको र अध्यक्ष केपी शर्मा ओलीको निर्देशन नै पार्टीको नीति बनेको आरोप लगाए। रावलले भने, “एमालेमा अहिले विचार र सिद्धान्त भन्ने केही छैन। केपी ओलीले जे भन्छन्, त्यही अन्तिम निर्णय हुन्छ।
त्यसैले अब एमाले, एमाले नरही बामाले भइसकेको छ।” उनले आफ्नो मातृभूमि जागरण अभियान प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै यसलाई अब सामाजिक आन्दोलनको रूप दिन आवश्यक रहेको बताए। हाल सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला भ्रमणमा रहेका उनले युवाहरू तथा नागरिकहरूसँग प्रत्यक्ष संवाद गरी अभियानबारे जानकारी दिइरहेको बताए।
उनले स्थानीय तहमा पुगेर नागरिक तथा युवासँग अन्तरक्रिया गर्दै राष्ट्रियता, स्वाभिमान र समृद्धिका विषयमा जनचेतना फैलाउने उद्देश्य रहेको बताए। दार्चुला पुगेका रावलले स्थानीय तहका नागरिक तथा युवासँग अन्तरक्रिया गर्दै आफ्नो अभियानको उद्देश्यबारे जानकारी गराएका छन्।
उनले मातृभूमि जागरण अभियान कुनै दल विशेषको विरोध वा समर्थनका लागि नभई मुलुकको राष्ट्रिय स्वाभिमान सुदृढ गर्न थालिएको बताए। उनले भने, “देशभर राष्ट्रवाद र स्वाभिमानको नयाँ चेतना जागृत गर्ने हाम्रो लक्ष्य हो। कुनै राजनीतिक पूर्वाग्रह वा दलको समर्थन–विरोधभन्दा माथि उठेर यो अभियानलाई जनताको साझा आवाज बनाउने योजना छ।” दार्चुला भ्रमणका क्रममा सोमबार रावलले मालिकार्जुन मन्दिरमा राष्ट्रिय झन्डासहित पूजा अर्चना गरेका थिए।
उनले मन्दिर परिसरमा स्थानीय नागरिकहरूसँग भेटघाट गर्दै उनीहरूका समस्याबारे जानकारी लिए। साथै, मातृभूमि जागरण अभियानका मुख्य उद्देश्यबारे समेत छलफल गरेका थिए।रावलले आफ्नो अभियान आगामी दिनहरूमा झनै व्यापक बनाइने जानकारी दिए। उनका अनुसार आगामी चरणमा देशभरका नागरिक एवं युवाहरूलाई सक्रिय सहभागी गराइनेछ।
उनले नेपालमा स्वाभिमान, सुशासन, आर्थिक समृद्धि र आत्मनिर्भरताको नयाँ युग सुरु गर्न मातृभूमि जागरण अभियान बलियो विकल्प बन्ने दाबी गरे। उनले भने, “हाम्रो अभियान कुनै राजनीतिक गुट वा व्यक्ति विशेषको स्वार्थमा केन्द्रित छैन।
यो मुलुकका हरेक नागरिकको भावना बोकेको अभियान हो। जनतासँगको प्रत्यक्ष संवाद र अन्तरक्रियाबाट नै देशको भविष्य सुनिश्चित गर्न सकिन्छ।” उनले हाल सुदूरपश्चिममा भइरहेको अभियान क्रमशः अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिए।