दार्चुला ।दार्चुलाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तीन हजार २ सय ३७ जना परीक्षार्थी सहभागी हुने भएका छन् । आउँदो चैत ७ गते देखि १९ गते सम्म संञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तीन हजार २ सय ३७ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा गत वर्षभन्दा यो वर्ष परीक्षा दिने विद्यार्थीको संख्या बढेको कार्यालयले जनाएको छ ।
यो वर्ष गत वर्ष भन्दा झण्डै ४८७ जना विद्यार्थी बढि रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । अघिल्लो वर्षको एसइईमा दुई हजार ७ सय ५० जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । भौगोलिक दुरीका आधारमा कार्यालयले जिल्लामा यो वर्ष १७ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।
जिल्लामा यो वर्ष नियमिततर्फ छात्र १हजार ४४ जना र छात्रा ९९१ गरी नियमित साधारण तर्फ २ हजार ३५ जनाले परीक्षा दिने छन । यस्तै प्राविधिक धारतर्फ छात्र ६७ जना छात्रा ७६ जना गरी कुल जम्मा १४३ जनाले परीक्षामा भाग लिने भएका छन । ग्रेडबृद्धि तर्फ छात्र ४८४ जना छात्रा ५७५गरी कुल जम्मा १ हजार ५९ जनाले परीक्षा दिने छन । जिल्लामा यो वर्ष पुरानो कोर्षको विद्यार्थीको लागी एउटै केन्द्र निर्धारण गरिएको छ ।
शौक्षिक सत्र २०७८।७९ का साधारण धार तर्फका विद्यार्थीहरुका लागी खंलगामा रहेको छन्ना टिंकरी कन्या माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यस्तै यो बर्ष प्राविधिक धार तर्फको परीक्षा खंलगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको क र ख केन्द्र बाट संञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ ।
कार्यालयले हिमालय मावि हुती, जन विकास मावि बारबाज, महेन्द्र नमुना मावि खलंगा “क र ख” मालिकार्जुन मावि धाप, गोकुलेश्वर मावि गोकुलेश्वर “क र ख” छान्ना तिंकरी कन्या मावि, शंकरपुर मावि पस्ती, लटिनाथ मावि रस्कोट, सरस्वती मावि उकु, मालिकार्जुन मावि मड, लटिनाथ मावि चौपाता, कृष्ण मावि बलाँच, तपोबन मावि पडपडा, गणेश विनायक मावि सिप्टी र लटिनाथ मावि खार विद्यालयमा परीक्षा केन्द्रहरु निर्धारण गरेको छ ।