दार्चुला । शैक्षिकसत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा एसइइ को नतिजा सुधार गर्न दुहुँ गाउँपालिका अन्तरगतका धारीपाटा मावि धारी र गणेश मावि सिमलीले विद्यार्थीहरुलाई चौबिसै घण्टा विद्यालयमै राखी पढाउन थालेका छन । धारीपाटा मावि धारीले यहि फागुन ५ गतेदेखि र गणेश मावि सिमलीले फागुन ६ गतेदेखि चौबिसै घण्टा विद्यालयमा विद्यार्थी राख्न थालेका हुन । आउँदो चैत ३ गतेसम्म विदार्थीलाई विद्यालयमै राखी नियमित तयारी गराउने विद्यालयहरुको योजना रहेको छ ।
विद्यार्थी ६ घण्टा मात्रै विद्यालयमा हुने र बाकी समय घरमा रहने हुदा घरको समयमा विद्यार्थीले नपढने र गृहकार्य समेत नगर्दा एसइइ को तयारी नहुने देखिएकाले विद्यालयमै राखेर पढाउने व्यवस्था गरिएको धारीपाटा मावि धारीका प्रधानाध्यापक दल बहादुर कुवरको भनाइ रहेको छ ।
अभिभावकसङ्गको व्यापक छलफलपछि सयुक्त प्रतिवद्धता र आचारसंहितामा निर्माण गरि विद्यार्थीहरुलाई खान बस्नको व्यवस्था गरि विद्यालयमै राख्ने निर्णय गरेको विद्यालयहरुले बताएका छन । विद्यालयमा पठनपाठनको समय तालिका निर्माण गरि तयारी गराउन थालिएको गणेश मावि सिमलीका प्रधानाध्यापक मोहन चन्दले बताएका छन । विद्यालयहरुले खास गरेर गणित, बिज्ञान र अंग्रेजी बिषयको तयारीमा जोड दिएका छन ।
विद्यालयमा माध्यमिक तहमा शिक्षण गर्ने शिक्षकहरु पालैपालो बस्ने र हरेक दिन १ जना अभिभावक समेत बस्ने व्यवस्था मिलाइएको छ । विद्यालयका कक्षाकोठाहरुमा विद्यार्थीहरुलाई खान र बस्ने व्यवस्था मिलाइएको छ भने कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु विद्यालयहरुले सञ्चालन गरेको तयारी कक्षामा सहभागि भएका छन ।
विद्यालयमै बसेर विभिन्न बिषयहरुको तयारी भइरहेकाले विद्यार्थीहरुलाई निकै फाइदा पुगेको मावि सिमलीको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रकाश बमले बताएका छन । विद्यालयहरुले एसइइको नतिजा सुधारका लागि थालेको प्रयास प्रशंसनीय रहेको शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमले बताएका छन । यो वर्षको माध्यमिक शिक्षा परीक्षा आउदो चैत्र ७ गते देखि संञ्चालन हुदैछन ।