काठमाडौं– नेपाली कांग्रेसमा नेतृत्वको भविष्यबारे बहस चुलिँदो छ । पार्टीभित्र महाधिवेशन ढिलाइको आशंका र आरोपबीच सभापति शेरबहादुर देउवाले राजनीतिक अवकाश लिने संकेत दिंदै नेतृत्व हस्तान्तरणको ढोका खोलिदिएका छन् । देउवाले कांग्रेस चितवनले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै आफु राजनीतिबाट रिटायर्ड हुन लागेको बताएका हुन । त्यतिमात्र होइन, सभापति देउवाले पार्टीभित्रको गुटगत लडाइँप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले नेपाली कांग्रेसलाई बलियो र एकताबद्ध बनाउनु बाहेक अब कुनै व्यक्तिगत आकांक्षा नरहेको स्पष्ट पारेका छन ।
सामान्यजस्तो लागे पनि नेपाली कांग्रेसको नेतृत्व परम्परा र देउवाको विगत नियाल्दा गहिरो सन्देश बोकेको देखिन्छ । कांग्रेस इतर समूहले महाधिवेशन निर्धारित समयभित्रै नगर्ने देउवाको योजनामाथि शंका व्यक्त गरिरहेका बेला देउवाले समयमै महाधिवेशन हुने आश्वासन दिए — तर कुन आधारमा भन्ने चाहिँ प्रस्ट्याएनन्। विधानले दिइएको एक वर्षको विस्तारको सीमा प्रयोग गर्दै २०८३ को पुससम्म महाधिवेशन सार्न सकिने हुँदा, यो स्पष्ट नहुनु आफैँमा राजनीतिक प्रश्न बनिरहेको छ ।
पार्टीको विधान अनुसार लगातार दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाइने व्यवस्था छ । तर संविधान वा निर्वाचन कानुनले यस्ता कुनै रोकावट राखेका छैनन्। विधान संशोधन गरेर पनि देउवाले तेस्रो कार्यकालको बाटो खोल्न सक्थे—पार्टीमा उनको बहुमत अझै मजबुत छ । देउवा उमेरले ७९ वर्ष पुगेका छन्। ५ पटक प्रधानमन्त्री, २ पटक सभापति भइसकेका छन्। देशको प्रत्येक संवेदनशील राजनीतिक मोडमा उनले भूमिका खेलेका छन्।
तर पछिल्लो समय पार्टीभित्रको असन्तोष, क्षेत्रीय असन्तुलन र भावी नेतृत्वको दबाबले उनलाई पछि हट्न बाध्य बनाएको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेमा भने ’जीवनपर्यन्त अध्यक्ष’ हुने आकांक्षा प्रस्टै देखिन्छ। ७० वर्षे उमेर सीमा पार गरेर पनि ओली विधान संशोधनको प्रयासमा छन्। अर्कातर्फ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३० वर्ष अर्थात ३ दशकदेखि अविचलित नेतृत्वमा छन्। जीवनभर अध्यक्ष हुन हत्ते गरिरहेका ओली र प्रचण्डहरूलाई देउवाले चुनौति समेत दिएका छन । उनले कांग्रेस, एमाले र माओवादीजस्तो नभएको र कांग्रेसमा फरक मतको सम्मान हुने बताएका छन ।
शेरबहादुर देउवाको राजनीतिक यात्रा केवल नेतृत्वमा पुग्ने होड मात्र थिएन—त्यो चाँडै नेतृत्वमा पुग्ने, नेतृत्व जोगाउने र फेरि लड्ने प्रक्रियाको मिश्रण हो । डडेलधुराबाट निर्वाचित भएपछि उनले ५ पटक प्रधानमन्त्री बन्ने अवसर पाए। पार्टी विभाजन गरेर सभापति भए, पछि पार्टी एकता गरेर पनि सभापति बन्न सफल भए । कांग्रेसजस्ता संस्थागत पार्टीमा ’पुनरागमन’ सम्भव छैन भन्ने मान्यता उनले तोडे। सुशील कोइरालासँग हारेर पनि अर्को महाधिवेशनमा विजय हासिल गरे । उनी निर्वाचनमा कहिल्यै पराजित भएका छैनन् ।
तर अहिले, सबैभन्दा शक्तिशाली स्थितिमा रहँदा, उनले नेतृत्वको आकांक्षा त्यागेर अवकाशको सन्देश दिनु—सामान्य निर्णय होइन । शेरबहादुर देउवाले पार्टीभित्रको गुटीय असन्तुलन, विधानको सीमारेखा र उमेरको यथार्थलाई बुझ्दै नेतृत्वको बाटो खुला गरेका छन् । तर यो अवकाश घोषणाले कांग्रेसभित्रको नेतृत्व परिवर्तन सहज हुन्छ भन्न सकिन्न । अब कसले नेतृत्व सम्हाल्ने? के देउवाको छायाँ कांग्रेसको भविष्यमा रहनेछ ? यो मात्र अवकाशको कथा होइन—नेतृत्वको उत्तराधिकार कसरी सुरक्षित गर्ने भन्ने कांग्रेसको साखको पनि परीक्षा हो ।