दार्चुला — शुक्रबार रातिको अत्यधिक वर्षाका कारण विद्यालय खेल मैदानको पर्खाल भत्किँदा एक घरमा क्षति पुगेको छ । महाकाली नगरपालिका‐१ लास्कुस्थित दशरथनगर आधारभूत विद्यालयको अगाडितर्फ रहेको खेल मैदानको पर्खाल भत्किएर सो ठाउँका वीरसिंह धामीको एक तले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयअनुसार पर्खाल भत्किँदा घरभित्र माटोसहितको लेदो पसेर घरमा क्षति भएको हो । सोही पहिरोका कारण रिना साहुको एक तले पाँच कोठाको पक्की घरको पछाडिको पर्खाल चर्केर घरमा जोखिम बढाएको दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले बताए ।
धामीको ५ जना र साहुको ६ जनाको परिवारलाई स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नजिकै रहेको आफन्तको घरमा सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।