आमा–बुबा मेरा भगवान
जीवनको पहिलो श्वासमै,
ममत्वले ढाकिदिन्छिन् आमा,
दुःख–पीडालाई मुस्कानमा बदल्ने
अद्भुत शक्ति उनको हृदयमा हुन्छ।
भोकले छटपटाउँदा आफ्नै मुखको अन्न रोकिन्छ,
आफू तिर्खाएको हुन्छिन्, तर
सन्तानको हातमा पानी हालेर खुशी पाउँछिन्।
त्यो त केवल आमा मात्र हुन्,
जसको माया मापन गर्न सकिँदैन।
बुबा पनि कम कहाँ हुनुहुन्छ र?
घाम–पानी, हावा–तुफानसँग लड्दै
खुट्टा भिजाएर, पसिना बगाएर
हाम्रो भविष्यको भवन कोर्ने
श्रमको मूर्त रूप बुबा नै त हुन्।
जीवनमा अनुशासनको पाठ सिकाउने,
आशाको पंख दिएर उड्न सिकाउने,
गल्ती गर्दा पनि सहेर
“पुनः उठ, पुनः चल” भनी ढाडस दिने
अटल आधार बुबा नै त हुन्।
आमा–बुबा सँगको माया,
कसैसँग तुलना गर्न सकिँदैन।
उनको त्याग, उनका सपनाले नै
हाम्रो जीवन सम्भव भएको छ।
यही कारणले भनिन्छ—
न टाढाको मन्दिर धाउनुपर्छ,
न ठूलो यज्ञ गर्नुपर्छ।
आमा–बुबाको चरण छुन सक्ने
हिम्मत जसको हुन्छ,
उसले त साक्षात् भगवान पाइसकेको हुन्छ।
लेखक:- कलावती धामी महेन्द्र नमुना माध्यमिक विद्यालय दार्चुलाकी विद्यार्थी हुन्।