गएका बालापन र साथीहरूको मिठास

बालापनका ती दिनहरू सम्झँदा मन एक्कासि भारी हुन्छ। त्यो बेला कस्तो निश्चिन्त जीवन थियो, न कसैको डर थियो, न भविष्यको चिन्ता। घरले रोक्यो भने पनि साथीहरूको लैलैमा लागेर भागेर जाने त्यो उमेरको रमाइलो शब्दमा उतार्नै गाह्रो छ। साथीहरूको हाँसो, रमाइलो, दौडधूप, एक आपसमा झगडा गर्ने अनि फेरि केहीबेरमै मिल्ने—यिनै थिए जीवनका सबैभन्दा अमूल्य क्षणहरू। त्यो बेला थोरैमा पनि सन्तुष्टि थियो, सामान्य कुरामा पनि अपार खुसी थियो।

आज ती दिनहरू छैनन्, ती साथीहरू पनि छैनन्। कोही सहरतिर हराइसके, कोही परदेशमा बिलाइसके। कोहीसँग कुरा हुँदैन, फोनमा भेटिँदैन, कतिपयको समाचार समेत आउँदैन। सबै आआफ्नो भविष्य खोज्दै आआफ्नो बाटो लागेका छन्। जीवनले हरेकलाई आआफ्नो दिशातर्फ धकेलेको छ, तर स्मृतिले भने सबैलाई एउटै ठाउँमा बाँधेको छ। यो मनमा सबैलाई राखेको छु, बिर्सेको छैन, सबैलाई सम्झेको छु।

गौरा पर्व आँगनमा आइसकेको छ। पहिले गाउँभरि गीत गुञ्जिन्थे, नाचगानको रौनक छाउँथ्यो, गाउँका डिल–पाखा हाँसोले तरंगित हुन्थे। बालबालिका दौडिरहेका हुन्थे, युवायुवतीले गाउँलाई चाडपर्वको रंगले सजाउँथे, बुढाबुढीका अनुहारमा मुस्कान हुन्थ्यो। अहिले गाउँ सुनसान छ, बारी खेत उस्तै हरियो छ, खोला नदी उस्तै बगिरहेका छन्, तर रमाउने आत्मा छैन। गाउँ मौन छ, गाउँकै हृदय खाली छ।

युवापुस्ता गाउँमै रोजगारी पाइन्थ्यो भने, गाउँमै दुःख कष्ट सहरेर भए पनि सबै गाउँमै हुने थियौँ। सहर पस्नु पर्ने थिएन, परदेशिनु पर्ने थिएन। आफ्नै माटोमा पसिना बगाएर पनि जीवन बिताउन सकिने भए, यत्रा बाध्यता भोग्नुपर्ने थिएन। तर समयले सबैलाई टाढा पारिदियो। गाउँको माया अझै मुटुभरि छ तर हातले समात्न सकिँदैन, आँखाले देख्न सकिँदैन।

सम्झँदा मन रसाउँछ। हामीसँग त्यतिबेला धेरै केही थिएन, तर अपार आत्मीयता थियो। एउटै थालमा बाँडेर खाने त्यो मिठास, एउटै बाटोमा हिँडेर थकाइ बिर्सने त्यो रमाइलो, एउटै चिसो छानामुनि गफिँदा आउने त्यो आनन्द—यिनै नै जीवनको साँचो सम्पत्ति थिए। ती सरल दिनहरू, निस्वार्थ प्रेमका दिनहरू पैसाले कहिल्यै किन्न सकिँदैनन्।

आज ती दिन फर्केर आउँदैनन्, तर सम्झनामा सधैँ हरित भएर बाँचिरहन्छन्। हरेक साथी जहाँ छन् त्यहीँबाट सम्झना गर्छु, शुभकामना दिन्छु। सबैमा गौरा पर्वको शुभकामना छ, सबैमा आत्मीयताको सम्झना छ।

साँचो भन्नुपर्दा बालापन, साथी र गाउँले दिएको मिठास नै जीवनको सबैभन्दा ठूलो पूँजी हो। समयले टाढा पार्छ, दूरी बढाउँछ, तर सम्झनाले कहिल्यै टाढा पार्दैन। स्मृतिले सधैँ जोडिरहन्छ। अनि चाडपर्व आउँदा, गाउँ सम्झिँदा, साथी सम्झिँदा मुटु भित्रैदेखि भन्छ, ती दिन फर्केर आउँदैनन् होला, तर ती दिन नै जीवनको सबैभन्दा सुन्दर र अमूल्य सम्पत्ति बनेर सधैँ हृदयमा बाँचिरहनेछन्।

लेखक:- नरेश प्रसाद जोशी दार्चुला जिल्ला लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली अम्कुरु

Leave A Reply

Your email address will not be published.