शिक्षकको कृत्रिम बुद्धिमत्ता सँगको लडाइँ

अर्जुन जङ्ग रायमाझी

प्रविधिमा आएको उल्लेखनीय छलाङ्गले ठूला-ठूला भाषामा आधारित प्रविधिहरू, विशेषतः कृत्रिम बुद्धिमत्ता (AI), स्वचालित मूल्याङ्कन साधन, भर्चुअल शिक्षण जस्ता नवीनतम शैक्षिक उपकरणहरूलाई एकाएक विश्वबजारमा सनसनीपूर्ण रूपमा प्रस्तुत गरेको छ। यसले शिक्षा क्षेत्रमा अकल्पनीय प्रभाव र परिवर्तन ल्याई विश्व समुदायलाई प्रविधिको शक्ति र यसको कार्यक्षमताको अनुपम उदाहरण दिएको छ।

स्वचालित मूल्याङ्कन साधन, कृत्रिम बुद्धिमत्ता, भर्चुअल शिक्षण र नवीनतम शैक्षिक परिवर्तनहरूले सम्पूर्ण शिक्षा क्षेत्रलाई पुनर्विचार गर्न बाध्य बनाइरहेका छन्। मानव जीवनमा आएको यो अकल्पनीय परिवर्तन स्वयं दिनरात अनुसन्धानमा लाग्ने वैज्ञानिकहरूका लागि पनि रोचक विषय बनेको छ। अब कक्षाकोठामा शिक्षक बिना नै सिकाइ, तालिम, विभिन्न कार्यक्रम र संस्थागत नीतिहरू सञ्चालन हुन थालेको सन्दर्भमा हालका शिक्षकहरूमा ठूलो संघर्ष र चुनौतीको पहाड खडा भएको छ। मानव जगतको सर्वोच्च प्राणी शिक्षकले आफ्ना क्षमता, ज्ञान र विवेकका बाबजुद पनि प्रविधिसँगको लडाइँमा आफ्नो अस्तित्व खोजिरहेका छन्। कतै शिक्षकको परिचय नै विस्तारै हराउँदै जाने हो कि भन्ने प्रश्न उठेको छ। यही विषयलाई आधार बनाएर यो लेख तयार गरिएको हो।

नेपालको परिप्रेक्ष्यमा यसका चुनौतीहरू, प्रविधिको प्रयोग, प्रविधिमैत्री शिक्षण, प्रविधिको विश्वसनीयता, भौतिक पूर्वाधारको अवस्था, सामाजिक–आर्थिक स्थिति र अन्य शिक्षा–सम्बन्धी गहिरा मुद्दाहरूलाई समेट्दै चर्चा गरिएको छ।

पहिलो चुनौती हो– प्राविधिक पूर्वाधार। प्रविधि हाम्रो जीवनको अभिन्न र अमूल्य अङ्ग भइसकेको छ। मानव र प्रविधिबीचको दूरी अहिले असम्भवजस्तै बनेको छ। प्रविधिका धेरै महत्व र फाइदाहरू भए पनि यसको अभावले शिक्षालाई अभिशापझैँ बनाइदिएको छ, जस्तै भोक लाग्दा अगाडि खाना देखिँदा–देखिँदै खान नसक्नु जस्तै। नेपालका अधिकांश विद्यालयहरू अझै भौतिक र आधारभूत पूर्वाधार बिना सञ्चालन भइरहेका छन्। विशेषतः पहाडी, दुर्गम हिमाली तथा तराईका धेरै क्षेत्र अझै प्रविधिको पहुँचबाहिर छन्। विद्यालयहरूमा बिजुली, शुद्ध पानी, इन्टरनेटको पहुँच, प्रोजेक्टर, ल्यापटप, मल्टिमिडिया, कम्प्युटर जस्ता साधनहरू यो डिजिटल युगमा पनि पुग्न सकेका छैनन्। यो तितो यथार्थ हो। चाहँदा–चाहँदै पनि यी सुविधाबाट वञ्चित हुनु हाम्रो दुर्भाग्य हो। यसका साथै यसलाई सञ्चालन गर्न लाग्ने खर्च पनि चुनौती हो। यसैले पूर्वाधारको अभावले विद्यालय र विद्यार्थीलाई समयसापेक्ष शिक्षा दिन कठिन बनाएको छ कि भन्ने प्रश्न गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था छ।

दोस्रो चुनौती हो– शिक्षकमा रहेको सिक्ने रहर, ज्ञान, रुचि, सीप र आत्मविश्वास। प्रविधिको विकटता यथार्थ हो तर त्यही कारणले शिक्षकहरू नवीनतम प्रविधिसँग साक्षात्कार हुन चाहँदैनन् वा पाउँदैनन् भने समस्या गहिरो हुन्छ। यसको मूल कारण हो– शिक्षा निकायले नयाँ प्रविधि, यसको प्रयोग, फाइदा र सावधानीबारे पर्याप्त तालिम, निर्देशन र प्रोत्साहन नदिनु। आजको पुस्ता प्रविधिसँगै हुर्किरहेको छ, तिनीहरू प्रविधिमैत्री छन्। उनीहरूलाई समयसापेक्ष शिक्षण पाउनुपर्ने हो। तर शिक्षक र विद्यार्थीबीच ज्ञानको स्रोत र प्रयोगमा ठूलो दूरी बढेको छ। किताबलाई मात्र शिक्षा ठान्ने प्रवृत्तिले पनि समस्या बढाएको छ।

शिक्षकहरूले सबै दोष अरूमा थोपर्ने र आफू निष्पक्ष बन्ने प्रयास गरेका छन्, तर प्रविधिसँग सकारात्मक रूपमा हातेमालो नगरी अस्तित्व र परिचय हराउने खतरा बढ्छ। शिक्षकमा AI सम्बन्धी पर्याप्त ज्ञान नहुँदा विद्यार्थीको निर्भरता र सिर्जनात्मक क्षमता क्षीण हुँदै जाने र अन्ततः शिक्षकविहीन कक्षाको सम्भावना बढ्ने जोखिम छ। जब AI जस्ता भाषामुखी प्रविधिहरूले विद्यार्थीलाई चाहिएको कुरा सजिलै र छोटो समयमा दिने गर्छन्, तब शिक्षकको उपस्थितिमाथि प्रश्नचिन्ह उठ्छ।

२१औँ शताब्दीमा प्रविधिलाई नजानेर बेवास्ता गर्नु भनेको शिक्षकलाई विस्थापित हुन ढोका खोलिदिनु हो। यो तीतो यथार्थ सबै शिक्षकले बुझ्नुपर्छ।

त्यसो भए के हाम्रा शिक्षकहरूले सिक्न वा प्रयोग गर्न नसकेका हुन्? यो सोचाइ पूर्ण रूपमा सही होइन। प्रविधिमैत्री शिक्षणका केही प्रेरक उदाहरणहरू पनि छन्। अब प्रश्न छ– बाटो के हो? यसको उत्तर छ– राज्य, शिक्षा निकाय, समाज, परिवार, संघसंस्था, विद्यालय, विद्यार्थी र शिक्षकबीच सहकार्य गरी अघि बढ्नु। AI जस्ता साधन अब बाध्यता होइन, वर्तमान समयको माग हो। यसलाई बेवास्ता गर्नु वा अस्वीकार गर्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो। यसलाई संगसंगै लिएर अघि बढ्न सके मात्र सबैको अस्तित्व रहन्छ।

शिक्षकमा देखिएको पेशाप्रतिको असुरक्षा, समय, विद्यार्थी संख्या, पूर्वाधार जस्ता कुरामा सुधार गर्दै शिक्षकबाटै सुरुवात गर्नुपर्छ। पेशागत विकास र क्षमता अभिवृद्धि तालिम, नीति निर्माण, लगानी, पाठ्यक्रममा सुधार, स्थानीयकरण र सांस्कृतिक सान्दर्भिकता, मानव र प्रविधिबीचको सन्तुलन, नियमित अनुगमन, पृष्ठपोषण र अनुसन्धान अनिवार्य छन्।

समग्रमा नेपालको शिक्षा क्षेत्रमा यो कठिन छ, तर असम्भव भने होइन। हात बाँधेर बस्दा प्रविधिसँगको लडाइँ हारमा परिणत भई शिक्षक प्रविधिको दास बन्न सक्ने अवस्था आउन सक्छ। त्यसैले यो चुनौती नभई अवसरको रूपमा लिनु पर्दछ।

लेखक: अर्जुन जङ्ग रायमाझी
ठेगाना: कावासोती–१७, गोर्सती, नवलपुर
पेशा: माध्यमिक तह अंग्रेजी विषय शिक्षक
शैक्षिक स्थिति: हाल काठमाण्डौ विश्वविद्यालयमा एमफिल

Leave A Reply

Your email address will not be published.