दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आफ्नो छ महिनाको कार्यकालमा गरेका कामहरुको सूची सार्वजनिक गरेका छन् ।
दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले जिल्लामा आएपछि गरेका कामहरू २१ बुँदामा सार्वजनिक गरेका हुन् । गत चैत २८ गते जिल्ला प्रशासन कार्यालयमा कार्यभार सम्हालेका पौडेलले समन्वयमार्फत भएका कामहरू सार्वजनिक गर्दै अझै जिल्लाका केही महत्वपूर्ण विषयमा काम गर्न बाँकी रहेको बताएका छन ।
प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकलाई गाउँमै सहज सेवा दिन जिल्ला प्रशासन कार्यालयले व्याँस, लेकम र अपिहिमाल गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरेको बताएका छन । यो शिविरमार्फत अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई सेवा दिइएको छ । प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामी नेतृत्वको टोलीलाई गाउँमै पठाएर सेवा दिएको उनले बताए ।
गाउँमै घुम्ती शिविर सञ्चालन गर्दा नागरिकले सहज रुपमा नागरिकता, नागरिकता प्रतिलिपि र राष्ट्रिय परिचय पत्र बनाउन पाएका छन । त्यस्तै, नागरिकता सिफारिस अनलाइन प्रणाली वडा तहबाटै सञ्चालनमा आएको छ । साथै, राष्ट्रिय परिचय पत्र अनलाइनबाटै भर्न र त्रुटि सच्याउन जिल्लाबाटै सुविधा मिलाइएको छ । प्रशासनले पहिलो पटक एक्जिट पोलको माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको छ।
नेपाल पत्रकार महासंघ दार्चुलाको सहजीकरणमा गरिएको सो कार्यक्रममा सेवाग्राहीको गुनासो, सुझाव र सुधारका बुँदाहरू संकलन गरिएको थियो । विकासे कार्यालयहरूले आफ्ना कामहरू सार्वजनिक गर्न नसकेको बेला प्रशासनले सार्वजनिक सुनुवाइमार्फत पारदर्शिता र जवाफदेहिताको अभ्यास गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार, पारदर्शी र व्यवस्थित सेवा प्रवाहकै कारण दार्चुला प्रशासनले देशभरका जिल्लामध्ये कार्यसम्पादनमा आठौँ स्थान प्राप्त गर्न सफल भएको छ । प्रशासनले आफुले सम्पादन गरेका कामहरु सार्वजनिक गरेकोमा पत्रकारहरुले प्रशासनको कामको प्रंशसा गरेका छन् ।
जिल्लामा राजस्व संकलन, बजार अनुगमन र लागूऔषधविरुद्ध सचेतना अभिवृद्धि गरिएको छ । त्यस्तै सडक सुरक्षा र असामाजिक गतिविधि नियन्त्रणमा समेत सक्रियता बढाइएको प्रशासनले जनाएको छ ।
रगत अभावका कारण बिरामीले भोग्दै आएका समस्या समाधान गर्न रक्तसञ्चार केन्द्र स्थापनाका लागि निजामती कर्मचारी र सुरक्षाकर्मीबाट पाँच लाख ५१ हजार रुपैयाँ संकलन गरी ब्लड बैंक व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
रक्त सञ्चार केन्द्रलाई व्यवस्थित र कार्य अगाडि बढाउन निरन्तर पहल भइरहेको उनले बताए । ब्लड बैंक व्यवस्थापनको लागि स्थानीय तहसँग समन्वय प्रशासनले गरिरहेको छ । जिल्लामा रगत अभाव हुन नदिन बृहत् रक्तदान कार्यक्रम गरि ९४ पोइन्ट रगत संकलन गरिएको उनले बताए ।
उनका अनुसार बृहत्त रक्तदान कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा कर्मचारी मिलन केन्द्र, सामािजक विकास कार्यालय, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका, पतञ्जली परिवार, र सुरक्षा निकायको सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।
जिल्ला प्रशासनको समन्वयमा व्याँस गाउँपालिका–२ की जानकी बुढाथोकीलाई मातृ संरक्षणका लागि ५६ हजार २ सय रुपैयाँ सहयोग प्रदान गरिएको थियो । जानकीको श्रीमानको तुइनबाट खसेर मृत्यु भएपछि उनलाई मातृ संरक्षण, नवजात शिशुको लागि सहयोग गरिएको प्रजिअ पौडेलले बताए ।
तस्बिरहरू




जिल्ला प्रशासन कार्यालय दार्चुलामा सेवाग्राहीका लागि हुलाक डेस्क स्थापना