विश्वकप लिग–२ : नेपालले टस जित्यो, अमेरिकाले पहिला ब्याटिंग गर्दै

काठमाडौं ।  नेपालले आइसीसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल आज अमेरिकाविरुद्ध खेल्दैछ ।

दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै अमेरिकाले पहिला ब्याटिंग गर्ने भएको छ ।

आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म ९ पटक आमने सामने भएका छन् । जसमा दुवै देशले ४–४ खेल जितेका छन् । त्यस्तै एक खेल टाइ भएको थियो ।

हालसम्म आइसीसी क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा अमेरिका २० खेल खेल्दै २८ अंकसहित दोस्रो स्थानमा रहेको छ । अमेरिकाले २० मध्ये १४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । त्यसैगरी नेपालले भने अहिलेसम्म खेलेका १६ खेलमा केवल ५ खेल जितेको छ भने २ खेलमा अंक बाँडेको छ । त्यस्तै ९ खेलमा हार बेहोरेको छ ।

 

आजको अमेरिकाविरुद्ध खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, दिपेन्द्र सिंह ऐरी, भीम सार्की, आरिफ सेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

Leave A Reply

Your email address will not be published.