जिल्लाको विगत र वर्तमान जीवनशैलीमा प्रमुख भिन्नताहरू सामाजिक, आर्थिक र भौगोलिक परिवर्त साधारणतया देखिन्छन् । विगतमा दार्चुला मुख्यतः कृषिमा आधारित हिमाली क्षेत्र हो जहाँका बस्तीहरू सामान्यतया परम्परागत र आरक्षित जीवनशैलीमा थिए । यहाँका मानिसहरू मुख्य रूपमा टाढा-टाढाका क्षेत्रहरूमा बसोबास गर्थे र भौगोलिक विकटताले आवत जावत तथा विकासमा बाधा पुऱाउने गर्थ्यो। हालको जीवनशैलीमा भने शिक्षाको स्तर बढेको छ (साक्षरता दर लगभग ९५%), विद्युतीय र सोलार सुविधा केही हदसम्म सबै घरधुरीमा पुगेको छ । तर पनि आर्थिक क्रियाकलाप न्यून रहेको र कृषि क्षेत्रमा नयाँ प्रविधि कम मात्रामा प्रयोग भइरहेको छ, जसले गर्दा खाद्य सन्तुलन राम्रो छैन । पर्यटकीय क्षेत्र र धार्मिक स्थलहरूको विकासले पर्यटनलाई प्रोत्साहन गरेको छ र व्यापारका लागि तिब्बतसँगको आवत-जावत पनि जारी छ । सामाजिक रूपमा धेरै सुधार भएका छन् र गैरसरकारी संस्थाहरूले पनि सामाजिक सुधारका लागि काम गरिरहेका छन् । कुल जनसंख्या बढ्दै गएको छ र महिलाको सहभागिता तथा साक्षरता दरमा उल्लेखनीय वृद्धि भएको छ भने आर्थिक आय र आधुनिक सुविधाहरूमा अझै सुधार आवश्यक छ । आफू पनि गाउँमा जन्मेकाे, गाउँमै हुर्केको, गाउँकै विद्यालयमा पढेकाे र गाउँकै मानिसहरूसँग हातेमालो गरेकाे गाउँले भएकाेले विगतकाे गाउँले जीवन र अहिलेकाे गाउँले जीवनमा धरै भिन्नता पाएकाे महसुस गरेकाे छुँ । गाउँले जीवनकाे कुरागर्दा कताबाट कसरी सुरु गर्ने ? केहि अडकलभने आइरहेकाे छैन् । गाउँकाे घरकाे चुलाेचाैकीबाट सुरुगर्न चाहे । उहिले गाउँमा प्राय: सबैकाे घरमा दुहुना भैंसी, एकहल गाेरु, एक/दुईवटा गाई, बाख्राहरू हुन्थे । गाउँका महिला दिदीबहिनीहरू, आामा, काकी, फूपू, बाैजु, बाैरानी, श्रीमती आदि सबैले सबेरै करिब ४:०० बजेतिर आँखा मिच्दै उठेर जाताे पिस्नु पर्दथ्याे । तत्पश्चात झिसमिसेमा गाेठकाे मल (पर्साे) हाल्ने, आगन (खलाे) बढार्ने गर्दथे । गाईभैंसी दुहुनु पर्दथ्याे । पुरुष जातिभने भलादमी पारामा बिहान ६:०० बजेसम्म घुरेर सुतेका हुन्थे । धन्य हामी पुरुष जाति महिलाकाे पीडा नबुझ्ने । अनि चुलाेचाैकी गर्ने, कलेउ पकाउने र हतार हतारमा खाएर पटुकी बाधी आँचलमा गेडा खाजा बाेकेर आँसी ज्याैडाे र आँसी कार्ने ढुङ्गा सहित बाेकेर वनजंगल जाने गर्दथे ।
परम्परागत रुपमा बिस्कुन सुकाउन र ओसारपसार गर्न सनपाटबाट निर्मित काेथला (थैलाे) र निगालाकाे चाेयाबाट निर्मित मट्टाेकाे प्रयाेग गरिन्थ्षाे भने अचेल प्लास्टिकका कट्ठा र छाेलदारीकाे प्रयाेग तथा कतिपय घरमा त लेन्टरमा बिस्कुन सुकाउने गरिन्छ । कमेराे र माटाेले लिपपोत गरिने धेरैजसो घरहरू सिमेन्टको गाराे र वेदरकाेटले झिलिमिली पारिएका छन् । अगेनामा बसेर सुल्पा र हुक्का चिलिम तान्ने मानिसहरू अहिले घाेडेमार विंडी र खुकुरी तथा शिखर आइस चुराेट तान्न पल्केका छन् । सबेरै उठेर दतिवन र अंगारले दाँत माझ्ने मानिसहरू काेलगेट ब्रुसले दाँत टल्काउने गर्दछन् । रिठा र अटिन्नेकाे जराले कपडा धुने मानिसहरू अहिले साेडा सावुनकाे प्रयाेग गर्दछन् ।
राेपाईँ पर्साईमा घिउ लगाएकाे पत्थने राेटी, केराकाे पात र घुन्नीमा घिउ तथा छाई हालेकाे दुड्बुडे साग खाने मानिसहरू अहिले चाउचाउ, चाउमिन, म:म: र केही नभए दुईखुट्टेकाे मासु र मदिरापान गर्न थालेका छन् । धन्य हाे ग्रामीण बासी दाजुभाइहरू !
आधुनिक ग्रामीण जीवनकाे कुरागर्दा हामी पुरुषहरूपनि महिलाकाे पीडा बुझ्ने भएका छाैं । गाउँका घरहरूमा गाईभैंसी बिरलै देखिन्छन् । हलगाेरु पनि कमै देखिन्छन् । जाताे पिस्ने कामलाई पूर्णरुपमा निरुत्साहित गरिएकाे छ । आजभाेलि गाउँ गाउँमा मील (चक्की) हरू रहेका छन् । गाउँमा पानीघट्टकाे प्रयाेग पनि कम हुँदै गएकाे देखिन्छ । महिलाहरूले बिहानै ४:०० बजेतिर आँखा मिच्दै उठ्न छाेडिसकेका छन् । गाईभैंसी, हलगाेरु, बाख्रा नभएपछि मलपर्साे साेर्ने कुरा भएन । बिहानै उठेर कलेउ खाएर गेडागुडी, आँसी, ज्याैडाेकाे तामझाम सहित वनजंगल जाने कुरापनि भएन । अहिलेका ग्रामीण महिलाहरूकाे हातहातमा माेबाइल छन् । हामी पुरुष जस्तै बिहान ६:०० बजेसम्म घुरेर सुत्ने गर्दछन् भन्दा अतिशयाेक्ती नहाेला । यस लेखमा जे कुरा लेखिएपनि महिलाहररूलाई म सम्मान गर्दछु ।
पहाडी ग्रामीण समुदायमा मकै, काेदाे, फापर लगायतका बालीहरूकाे उत्पादन बढीहुने र धान, गहुँकाे उत्पादन कम हुनेहुँदा मकैकाे राेटी, फापरकाे साग तथा हरियाे धनिया र खुर्सानी हालेकाे नुन र भैंसीकाे छाईँसित मज्जाले दिनकाे सबै छाक टार्ने गर्दथे । अहिले एकछाक दालभात, तरकारी र बिहान साँझ गहुँकाे राेटी तरकारी नखाने मान्छे भेटाउन गाह्राे छ । मकैलाई त गाईभैंसी भएका घरमा ओखलमा कुटेर खाेलानी (पिंडाे) बनाउने काम बाहेक अरु प्रयाेजन देखिदैन ।
परम्परागत ग्रामीण समुदायमा झाेराे दाउरा नभएमा चुल्हाे बल्दैनथ्याे, अहिले गाउँका कतिपय घरहरूमा झाेराे दाउराकाे चलन हट्दै गएकाे देखिन्छ । अहिले ग्याँस चुल्हाे र विद्युतिय चुल्हाेकाे प्रयाेग हुन थालेकाे छ । घरमा उज्यालाेकाे लागि प्रयाेग गरिने झाेराे, लैम्प, दियाे, लालटिन, गैस पूर्णरूपमा विस्थापित हुँदै गएकाे छ । घरघरमा झिलिमिली वत्तीहरू जडान गरिएका छन् । ओडने ओछ्याउने सुत्ने तरिकामा पनि व्यापक परिवर्तन भएकाे छ । परालबाट निर्मित फिनी र दरी कुनै पनि घरमा देख्न सकिदैन । अहिले सुकिला खाेल हालेका सिरक र गद्दाहरू गाउँका सबै घरहरूमा छन् ।
यतिमात्र हाेइन हजुर ! घरमा पाहुना, इष्टमित्र अतिथि आउँदा गरिने सत्कारकाे तरिकामा पनि परिवर्तन भएकाे छ । उहिले घरमा पाहुना आउँदा सेलरोटी, माणा, हलुवा, खीर, घीउभात आदिकाे परिकारले अतिथि सत्कार हुन्थ्याे भने अहिले अतिथि सत्कारकाे लागि दुईखुट्टे वा चारखुट्टे पशुपंक्षीकाे मासु, भाेडका बियर, काेक, फेन्टा र सूर्य शिखर आइस चुराेटले स्वागत गरिन्छ । राेपाई पर्साई हुँदा पत्थने राेटी, केराकाे खाेकीमा राखेकाे घिउ, तरकारी, मह, केरा, पिंडालु, गिठा, साँझकाे सेलराेटीकाे चलनपनि हट्दै गएकाे देखिन्छ । बरु एकगास राेटी र भाेडका बियर मासुभए पुग्ने भएकाे छ ।
वर्षातमा पानीबाट बच्न मालुकाे पातबाट निर्मित पातलाेकाे प्रयाेग पूर्णरूपमा हराएकाे छ । यसकाे बदलामा आधुनिक छाताहरूकाे प्रयाेग गरिएकाे देख्न सकिन्छ । हलाे जाेत्दा नाङ्गो खुट्टा र कच्छा लगाउने चलनपनि हटिसकेकाे छ । बरु आधुनिक कुर्ता पैजामा र जुत्ता लगाएर हलाे जाेत्ने गरिन्छ । उहिले गाउँमा नुहाउन, लत्ताकपडा धुन प्रयाेग गरिने रिठा, पिना, अटिन्ने वनस्पतिकाे जरालाई विस्थापित गरेर आधुनिक बासनादार लिरिल, लक्स, लाइफबाय, पियर्स आदि साबुनकाे प्रयाेग गरिन्छ । गाउँमा चियासँग गुड, मिस्रीकाे ठाउँमा आजभाेली गाउँमापनि चिनी मिश्रित चियाकाे स्वाद चाख्न पाइन्छ । ताेरी, सर्साें, चिउरी आदिकाे तेल निकाल्न प्रयाेग गरिने परम्परागत काेल्हुकाे बदलामा मिलबाट तेल निकाल्ने चलन बढदाे छ । बन्ढी, काच्छा र ठाडी धाेतीमा सजिने गाउँका बुढापाकाहरू अचेल कुर्ता पैजामा, दाैरा सुरुवाल, ढाका टाेपीकाे सुकिलाे पाेशाकमा देख्न सकिन्छ । मकै भाँचेर उधाडेर घाममा सुकाइ भकारीमा हाल्ने चलन हटेर आजभाेली पहाडका प्राय: सबै घरहरूमा मकैका लुटाहरू देख्न सकिन्छ ।
उहिले गाउँमा दिसापिसाब गर्न जंगल, झाडी, झाङमा जाने गर्दथे । आजभाेली गाउँका हरेक घरहरूमा पाइखाना देख्न सकिन्छ । दाँत माझ्न प्रयाेग गरिने दतिवन, अंगार काेइलाकाे बदलामा आजभाेली सेन्साेडाइन, पेप्साेडेण्ट, काेलगेट र नाइलन ब्रुसकाे प्रयाेग गर्ने गर्दछन् गाउँमा । यतिमात्र नभएर अहिले गाउँमा फास्टफुड, जङ्क फुडहरूकाे प्रयाेग पनि बढिरहेको छ । उहिले गाउँमा केटाकाेलागि कन्या खाेज्न जान्थे र चिठा मिलाएर विवाह गर्ने गर्दथे, आजभाेली मेसेञ्जर, फेसबुककाे माध्यमबाट केटाकेटीकाे विवाहकाे चलन बढ्दाे छ । पहिलेकाे २ दिने विवाहलाई १ (वानडे) दिनमा सिमित पारिएकाे छ । पहिलेकाे बेलीबटन पाइन्ट, एलटी जाकेट, कम्मरमा खुकुरी, कुरमुली, घाँटीमा दुबाे र रुपैयाँकाे मालाकाे बदला आधुनिक महङ्गा तडकभडकका विवाह पाेशाकलाई गाउँमा प्राथमिकतामा राखिएकाे छ ।
गाउँमा पनि दमाहा, झ्याली, टिम्का, विगुल, मसकिबीन सहितकाे पञ्चेबाजा र छलियाँ नाचकाे ठाउँमा आधुनिक बैण्ड बाजाकाे चलन भित्रिएकाे छ । पहिले विवाहमा डाेली, तापदानी तथा घाेडा हुन्थ्याेभने अहिले गाउँमा डाेली, तापदानी तथा घाेडा देख्न पनि पाइदैन । गाडी, कारकाे बाहिर विवाह प्रणयका पाेष्टरले सुसज्जित विवाह देख्न सकिन्छ । पहिले गाउँमा पुरुषमात्र विवाह जन्ती जाने गर्दथे भने अहिले नरनारीकाे जत्था नै जन्ती बरेती जाने गर्दछन् । गाउँमा कुनै मानिस बिरामीहुँदा वा मृत्युु हुँदा डाँकाे (ठुलाे आवाज) लगाउने गर्दथे भने अहिले फाेन, फेसबुक लगायतका सामाजिक सञ्जालबाट डाँकाे लगाउने (खबर गर्ने) चलन रहेकाे छ ।
पहिले गाउँमा महिलाहरू महिनावारी हुँदा वा सुत्केरी हुँदा छाउपडी गाेठमा बस्ने गर्दथे भने आजभाेली छाउपडी गाेठमा बस्ने चलन हटेकाे छ । गाेठमा सुत्केरी हुने चलन हटेर आजभाेली स्वास्थ्य संस्थामा सुत्केरी गराउने चलन बढ्दाे छ । पहिले सुत्केरी हुँदा नाै दिनसम्म शिशुकाे स्याहार स्वयम् सुत्केरी महिलाले गर्नु पर्दथ्याे भने आजभाेलि सुत्केरी र शिशुकाे स्याहार अरुले नै गर्दछन् । पहिलेका ग्रामीण महिलाहरूकाे पहिरन र अहिलेका ग्रामीण महिलाहरूकाे पहिरनमा व्यापक भिन्नता छ । पहिलेका ग्रामीण महिलाहरू घरधन्दामा पेटीकाेट बाहिर लुङ्गीकाे पहिरन हुन्थ्याे भने अहिले पेटीकाेट बाहिर लगाउने लुङ्गीकाे चलन पूर्णरूपमा हटिसकेकाे छ । अहिले ग्रामीण महिलाहरू अधिकजसाे कुर्ता सुरुवाल र केही महिलाहरू मेक्सी लगाउने गर्दछन् घरधन्दाकाे काममा । परम्परागत चाैबन्दी, गुन्यु चाेलाे र १२/१४ पाटाकाे घाँघराे लगाउने चलन पूर्णरूपमा लाेप भइसकेको छ । पहिले गाउँमा टाढाटाढाबाट तामाकाे गाग्राे (फाेंलाे) मा पानी बाेक्नु पर्दथ्याे भने अहिले गाउँका प्राय: सबै घरहरूमा पानीका धाराहरू जडान गरिएका छन् । पहिले महिलाहरूकाे गरगहानामा सुता, अठअन्नी, चाैवन्नी, रुपैया चाँदीकाे माला, नत्थु, पैजा, पाैंंड्या, चरेवा पाेते, गलाेबन्द आदि हुन्थे भने अहिले यी पुराना गहना सबै विस्थापित भइसकेका छन् । अहिलेका गरगहानामा हार, सिक्री, मंगलसूत्र, पायल आदि के के हाे ? के के गरगहाना आदि प्रयाेग गरिन्छन् ।
मान सिंह धामी (औल्लेकी)
उप-प्राध्यापक
सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पस
स्थायी ठेगाना :
मालिकार्जुन गाउँपालिका – ४ हुनैनाथ गाेठ्युडी (काेटबुङ्गा), दार्चुला