दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले दार्चुलाबाट मनोनयन दर्ता गराउनुभएको छ। जिल्ला सदरमुकाममा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर जोशीले समर्थक तथा पार्टी नेताहरूको उपस्थितिमा मनोनयन दर्ता गराउनुभएको हो।
मनोनयन दर्तापछि उम्मेदवार जोशीले दार्चुलाको समग्र विकास, सुशासन र जनताको अधिकारका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो। “दार्चुला लामो समयदेखि विकास र अवसरबाट पछाडि परेको जिल्ला हो। यहाँका समस्या समाधान गर्न संसदमा मजबुत आवाज आवश्यक छ,” उहाँले भन्नुभयो। शिक्षा, स्वास्थ्य, सडक, रोजगारी र सीमावर्ती क्षेत्रका समस्या आफ्नो प्राथमिकतामा रहने जोशीको भनाइ थियो।
नेपाली कांग्रेस दार्चुलाका पार्टी सभापति ललित सिंह बोहराले धर्मानन्द जोशी अनुभवी, स्वच्छ छवि भएका र जनतामाझ लोकप्रिय नेता भएको उल्लेख गर्नुभयो। “अन्तर्राष्ट्रिय अनुभव, कानुनी ज्ञान र समाजसेवामा देखाएको सक्रियताका कारण पार्टीले उहाँलाई उम्मेदवार बनाएको हो,” बोहराले भन्नुभयो।
वि.सं. २०३२ सालमा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ पपरथलामा जन्मिनुभएका जोशी संयुक्त राष्ट्रसंघ अन्तर्गत मानव अधिकारका क्षेत्रमा लामो समय काम गरिसक्नुभएको छ। साथै, उहाँ कानुन व्यवसायी तथा सामाजिक अभियन्ताका रूपमा पनि परिचित हुनुहुन्छ।
मनोनयन दर्ता कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला तथा क्षेत्रीय नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। मनोनयनपछि सदरमुकाम क्षेत्रमा कांग्रेस समर्थकहरूले नाराबाजीसहित र्यालीसमेत निकालेका थिए।
आगामी निर्वाचनमा दार्चुलाबाट कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि कांग्रेसले धर्मानन्द जोशीको उम्मेदवारीले पार्टी थप सशक्त हुने विश्वास लिएको छ।