दार्चुलामा चुनावी सरगर्मी: पूर्वमन्त्री ठगुन्नादेखि धर्मानन्द जोशी सम्मको उम्मेदवारी दर्ता
११ वटा राजनितिक दलको उम्मेदवारी दर्ता
दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलामा उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन पत्र दर्ता गराएका छन् । मंगलबार निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा मुख्य दल, साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराएका छन् । नेकपा एमाले दार्चुलाबाट गणेश सिंह ठगुन्नाले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस दार्चुलाबाट धर्मानन्द जोशीले मनोनयन पत्र दर्ता गरेका छन् ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी दार्चुलाबाट लक्ष्मण दत्त जोशी ‘सुरज’ले मनोनयन पत्र दर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश सामन्तले मनोनयन दर्ता गरेका छन् । आम जनता पार्टीबाट प्रेम सिंह बडालले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्दले मनोनयन दर्ता गरेका छन् । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रियबाट गगन ठगुन्ना,नेपाल मजदुर किसान पार्टीबाट रमेश कुमार रावलले मनोनयन दर्ता गरेका छन् ।
राष्ट्रिय जनमोर्चा दार्चुलाबाट बिर्खराज पन्तले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा पुराना र नयाँ अनुहारको मिश्रणले यो पटक जिल्लाको निर्वाचन रोचक हुने अनुमान गरिएको छ । जिल्लामा ११ वटा राजनितिक दलहरुले उम्मेदवारी दर्ता गराएको बताइएको छ । मनोनयन दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकेको थियो।
माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरि त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि त्यसै दिन दिउँसो ४ बजेदेखि बेलुकी ७ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
