दार्चुला । दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार हिजो दलको उम्मेदवारी हेर्दा जिल्लामा महिला उम्मेदवारलाई भने उपेक्षा गरिएको देखिन्छ । दार्चुलाबाट निर्वाचनमा उम्मेदवार हुन ११ राजनीतिक दलका ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
मनोनय दर्ता गराएका राजनीतिक दलहरुले महिलाको सङ्ख्या शून्य राखेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि मुख्य दलहरूले नै महिला उम्मेदवार सहभागी नगराएका हुन् । आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुराना र नयाँ दलले मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको उम्मेदवारको लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले)बाट गणेश सिंह ठगुन्नाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेपाली कांग्रेसबाट धर्मानन्द जोशी, नेपाली कम्युनिष्ट पार्टीबाट लक्ष्मण दत्त जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश सिंह सामन्त र नेकपा माओवादीबाट नवराज भट्टले प्रतिनिधि सभा प्रतक्षतर्फको उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट रमेश कुमार रावल, राष्ट्रिय जनमोर्चाबाट बिर्खराज पन्त, संघिय लोकतान्त्रिक पार्टीबाट गगन ठगुन्ना, आम जनता पार्टीबाट प्रेम सिंह बडाल र नेकपा सयुक्तबाट विद्यादेव जोशीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दार्चुलाका १५ मतदान स्थल र २२ मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशीलको सूचीमा राखिएको छ ।
दार्चुलामा १ सय १२ मतदान स्थल मध्ये १५ र १ सय ४३ मतदान केन्द्र मध्ये २२ वटा केन्द्रलाई सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशीलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अनिल पौडेलले जानकारी दिए । जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन् ।