दार्चुला । दार्चुला जिल्लाका दुर्गम क्षेत्रका मतदानस्थलहरूको निरीक्षण गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, शान्त र निष्पक्ष बनाउन जिल्ला सुरक्षा समितिले मतदानस्थलहरूको अवलोकन तथा निरीक्षण गरेको हो ।
निर्वाचनको समयमा मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिने दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । स्रोतसाधन व्यवस्थापन र जनशक्ति परिचालनका लागि सबै मतदानस्थलको निरीक्षण गरिएको र दुर्गम क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए ।
१५ मतदान स्थल तथा २२ वटा मतदान केन्द्रलाई सुरक्षाको दृष्टिले अति संवेदनशीलको सूचीमा राखिएको छ । यहाँका ११२ मतदान स्थलमध्ये १५ र १४३ मतदान केन्द्रमध्ये २२ वटा केन्द्रलाई सुरक्षाको दृष्टिबाट अति संवेदनशीलको सूचीमा राखिएको हो ।
निरीक्षणपछि आवश्यक सुरक्षा योजना समेत तयार भइसकेको प्रशासनले जनाएको छ । दार्चुलामा एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ ११ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन् ।