सरस्वती मावि, सेलिचामा परिवारद्वारा शिवपुराण महायज्ञका लागि आर्थिक सहयोग 

दार्चुला । दार्चुला जिल्लाको धार्मिक तथा सांस्कृतिक गौरवको केन्द्र श्री शैल्य मल्लिकार्जुन राष्ट्रिय धाममा आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव–२०८२ लाई सफल र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले सहयोग जुट्ने क्रम जारी रहेको छ।
यसैक्रममा मालिकार्जुन गाउँपालिका अन्तर्गत रहेको  सरस्वती माध्यमिक विद्यालय, सेलिचामा परिवारले स्वेच्छिक रूपमा दान–भेटी स्वरूप रु. २९ हजार ८ सय ४४ रुपैयाँ सहयोग प्रदान गरेको छ। विद्यालय परिवारबाट प्राप्त उक्त सहयोग महायज्ञ सञ्चालनका लागि महत्वपूर्ण सहयोगका रूपमा लिइएको शिवपुराण महायज्ञ सञ्चालन समितिले जनाएको छ।
शिवपुराण महायज्ञ धार्मिक आस्था अभिवृद्धि, सनातन संस्कृतिको संरक्षण तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको हो। महायज्ञ अवधिभर शिवपुराण कथा वाचन, धार्मिक प्रवचन, पूजा–आराधना, भजन–कीर्तन तथा विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने कार्यक्रम रहेको छ। साथै यस धार्मिक महोत्सवले क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
सञ्चालन समितिका अनुसार यस्ता ठूला धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन सबैको सामूहिक प्रयास आवश्यक पर्दछ। त्यसैले स्थानीय तह, विद्यालय, संघ–संस्था, समाजसेवी, बुद्धिजीवी तथा देश–विदेशमा रहनु भएका श्रद्धालुहरूलाई आ–आफ्नो क्षेत्र र क्षमताअनुसार आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न अपिल गरिएको छ।
सरस्वती माध्यमिक विद्यालय, सेलिचामा परिवारले देखाएको सहयोगी भावना अन्य विद्यालय, संघ–संस्था तथा समुदायका लागि प्रेरणादायी रहेको समितिको भनाइ छ। यस्ता सहयोगहरूले धार्मिक कार्यक्रम सफल बनाउन मात्र होइन, सामाजिक एकता, सहकार्य र सद्भावलाई पनि मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
मल्लिकार्जुन राष्ट्रिय धाममा आयोजना हुने शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सवलाई सभ्य, भव्य र सफल रूपमा सम्पन्न गर्न सम्पूर्ण श्रद्धालु तथा शुभेच्छुकहरूलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न शिवपुराण महायज्ञ सञ्चालन समितिले हार्दिक अनुरोध गरेको छ।

सहयोगी हरुको विवरण

Leave A Reply

Your email address will not be published.