दार्चुलामा पुरानाविरुद्ध नयाँ अनुहार, नेकपामा जोशीको ‘कमब्याक’

दार्चुला । एक मात्र निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा यसपालि पुराना र नयाँ उमेरदवारबीच रोचक प्रतिस्पर्धा हुने सम्भावना छ । दार्चुलाको चुनावी प्रतिस्पर्धामा ११ पार्टीबाट उमेदवार खडा भएका छन् ।

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बाहेक सबै नयाँ उमेदवार छन् । एमालेबाट गणेशसिंह ठगुन्ना र नेकपाका लक्ष्मणदत्त जोशीको उमेदवारी परेको छ ।
नेपाली कांग्रेसले यसपालि दार्चुलामा नयाँ उमेदवार उठाएको छ । कांग्रेसबाट धर्मानन्द जोशी उमेदवार बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजेशसिंह सामन्त र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेश चन्दले उम्मेदवारी दिएका छन् । यस्तै, नेपाल मजदुर किसान पार्टीबाट रमेशकुमार रावल, राष्ट्रिय जनमोर्चाका विर्खराज पन्त, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गगन ठगुन्ना, नेकपा संयुक्तका विद्यादेव जोशी, आम जनता पार्टीबाट प्रेमसिंह बडाल र नेकपा (माओवादी)का नवराज भट्टले उमेदवारी दर्ता गराएका छन् ।
तर, निर्वाचनमा मुख्य प्रतिस्पर्धा विघटित संसद्का मुख्य राजनीतिक दल कांग्रेस र एमालेबीच तीव्र हुने सम्भावना छ । ०७९ सालको आमनिर्वाचनमा दार्चुलाबाट कांग्रेसबाट दिलेन्द्रप्रसाद बडू विजयी भएका थिए । दार्चुलाबाट पटक–पटक विजयी भएका बडू उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत बने । यसपालि उनलाई विश्राम दिइएको छ ।
बडू ०४८ सालमा पहिलोपटक दार्चुलाबाट सांसद बनेका भए । त्यसयता उनी निरन्तर दार्चुलाबाट उमेदवार बन्दै आएका थिए ।

एमालेले पूर्वसामान्य प्रशासनमन्त्री गणेश ठगुन्नालाई फेरि चुनावी मैदानमा उभ्याएको छ । ०७९ को चुनावमा उनी बडूसँग पराजित भएका थिए । ठगुन्ना ०७० मा भएको दोस्रो संविधानसभा चुनावबाट उदाएका हुन् । विघटित प्रतिनिधिसभाको चुनावबाहेक अघिल्ला दुई निर्वाचनमा ठगुन्ना विजयी भए ।

दुईपटक ठगुन्नासँग बडूले पराजय व्यहोरेका थिए ।यसपटक ठगुन्नाको प्रतिस्पर्धा कांग्रेसका नयाँ अनुहार धर्मानन्द र नेकपाका लक्ष्मणदत्तसित हुँदै छ । लक्ष्मणदत्त पुरानै अनुहार हुन् । उनी ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दार्जुलाबाटै प्रतिस्पर्धा गरेर विजयी भएका थिए । पार्टी फुटेपछि उनी मोहन वैद्य नेतृत्वको माओवादीमा आबद्ध भए । वैद्य माओवादीले त्यसताका निर्वाचन बहिष्कार गर्दै आएको छ । सोहीअनुसार लक्ष्मणदत्त पनि उमेदवार बनेका थिएनन् । यसपालि उनी नेकपामा फर्किएर चुनावी मैदानमा उत्रिएका हुन् ।

दार्चुलामा प्रदेशसभाका दुई क्षेत्रमध्ये ‘क’मा गठबन्धनबाट कांग्रेसका विक्रमसिंह धामी र ‘ख’मा तत्कालीन नेकपा (माओवादी केन्द्रं)का नेता मानबहादुर धामी ‘सन्तोष’ निर्वाचित भएका थिए ।
दार्चुलाका नौमध्ये पाँच स्थानीय तहमा एमालेका अध्यक्ष छन् ।

तत्कालीन माओवादीबाट चारजना विजयी भएका थिए । कांग्रेसका भने चार स्थानीय तहमा उपाध्यक्ष मात्र निर्वाचित भएका थिए । दुई नगरपालिका महाकाली र शैल्यशिखरका नगरप्रमुखमा एमाले विजयी भएको थियो । अरू तीन गाउँपालिका दुहुँ, ब्याँस र मालिकार्जुनमा एमाले विजयी भएको थियो ।

लेकम, अपीहिमाल, नौगाड र मार्मा पालिकाका प्रमुखमा तत्कालीन माओवादीले जितेको थियो । दार्चुलामा मुख्यत: एमाले, कांग्रेस र नेकपाका उमेदवारबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.