कांग्रेस उम्मेदवार जोशीको घरदैलो अभियान सुरु

दार्चुला । नेपाली कांग्रेस दार्चुलाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार धर्मानन्द जोशीले चुनाव प्रचार–प्रसारलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । शैल्यशिखर नगरपालिका–६ पनेबाजमा आयोजित चुनावी भेटघाट तथा घरदैलो कार्यक्रममा सहभागी हुँदै उहाँले आफ्नो अमूल्य मत नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’मा हालेर विजयी गराइदिन मतदातासँग अपिल गर्नुभएको छ ।
कार्यक्रममा स्थानीय बासिन्दा, युवायुवती, महिला तथा ज्येष्ठ नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो । भेटघाटका क्रममा उम्मेदवार जोशीले आफू युवापुस्ताको चाहना, सुझाव र अपेक्षाअनुसार नै राजनीतिमा मैदानमा आएको स्पष्ट पार्नुभयो । “युवाहरूको आवाज, सपना र चाहनालाई संस्थागत गर्नकै लागि म उम्मेदवार बनेको हुँ,” उहाँले भन्नुभयो, “अबको नेतृत्व युवाको सोच, ऊर्जा र दृष्टिकोणसँगै अघि बढ्नुपर्छ भन्ने मेरो दृढ विश्वास हो।”
उम्मेदवार जोशीले चुनाव जितेपछि पनि जनताको साथ कहिल्यै नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “मैले चुनाव जिते पनि हारें पनि, जनतासँगको सम्बन्ध कहिल्यै तोडिने छैन,” उहाँले भन्नुभयो, “राजनीति मेरो लागि पद वा प्रतिष्ठा होइन, सेवा हो । जनताको दुःख–सुखमा सधैं साथ रहनेछु।” उहाँले आफू यहीँको माटोमा हुर्किएको, यहीँ संघर्ष गरेर यहाँसम्म आइपुगेको मान्छे भएको उल्लेख गर्दै भविष्यमा पनि यहीँका जनताको साथमा रहने अठोट व्यक्त गर्नुभयो ।
घरदैलो कार्यक्रमका क्रममा जोशीले आफ्नो राजनीतिक यात्राबारे पनि खुलेर कुरा गर्नुभयो । उहाँले धेरै संघर्ष, अभाव र चुनौतीका बाबजुद आज यो स्थानसम्म आइपुगेको बताउनुभयो । “सजिलो बाटो रोजेको भए सायद यहाँसम्म आइपुग्ने थिएन,” उहाँले भन्नुभयो, “तर जनताको भरोसा र साथले मलाई अघि बढायो । यही भरोसालाई कहिल्यै कमजोर हुन दिने छैन।” उहाँका अनुसार राजनीति भनेको केवल भाषण र वाचा मात्र नभई व्यवहारमा देखिनुपर्ने प्रतिबद्धता हो ।
शैल्यशिखर नगरपालिका–६ पनेबाजका स्थानीय बासिन्दाले पनि उम्मेदवार जोशीप्रति भरोसा व्यक्त गरेका छन् । स्थानीय युवाहरूले शिक्षा, रोजगारी, सडक, खानेपानी, स्वास्थ्य र समग्र विकासका विषयमा आफ्ना अपेक्षा राखेका थिए । त्यसक्रममा जोशीले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर विकासका योजना अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । “यहाँका समस्या बाहिर बसेर होइन, यहीँ बसेर बुझ्नुपर्छ,” उहाँले भन्नुभयो, “म यहीँको मान्छे भएकाले यहाँको पीडा, आवश्यकता र सम्भावना राम्रोसँग बुझ्छु।”
कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेस लोकतन्त्र, समावेशिता र विकासको पक्षमा सधैं उभिएको पार्टी भएको उल्लेख गर्नुभयो । कांग्रेसको नेतृत्वमा मात्रै स्थायित्व, सुशासन र दिगो विकास सम्भव हुने उहाँको धारणा थियो । “रुख केवल चुनाव चिह्न होइन, यो आशा, भरोसा र विकासको प्रतीक हो,” उहाँले भन्नुभयो, “रुखमा मत हालेर दार्चुलाको उज्ज्वल भविष्य निर्माणमा साथ दिनुहोस्।”
घरदैलो अभियान अन्तर्गत उम्मेदवार जोशीले स्थानीय घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको गुनासो, सुझाव र अपेक्षा सुन्ने क्रमलाई निरन्तरता दिनुभएको छ । स्थानीयस्तरमै जनतासँग घुलमिल भएर अघि बढ्नु नै आफ्नो चुनावी रणनीति भएको उहाँले बताउनुभयो । नेपाली कांग्रेस दार्चुलाले यो अभियानलाई प्रभावकारी बनाउँदै जिल्लाभरि जनसम्पर्कलाई थप तीव्र बनाउने जनाएको छ।

Leave A Reply

Your email address will not be published.