दार्चुला । मालिकार्जुन गाउँपालिका गाउँकार्यसमितिले आज राष्ट्रिय धाम मालिकार्जुन मन्दिरबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी प्रचार–प्रसार कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको मालिकार्जुन मन्दिरबाट प्रचारको सुरुवात गरेको जनाएको छ।
कार्यक्रम मालिकार्जुन गाउँपालिकाका सभापति किसन सिंह सामन्तको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा क्षेत्रीय सभापति मन्दिर सिंह धामी सहभागी रहेका थिए। कार्यक्रममा गाउँपालिकाभरिका कांग्रेसका नेताकार्यकर्ता, शुभेच्छुक तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको सभापति सामन्तले जानकारी दिनुभयो।
चुनावी अभियानको सुरुवात अवसरमा मालिकार्जुन मन्दिरमा नेपाली कांग्रेसको तर्फबाट विशेष रुद्राभिषेक सम्पन्न गरिएको थियो। धार्मिक अनुष्ठानमार्फत शान्ति, समृद्धि र सफलताको कामना गर्दै पार्टीले चुनावी यात्राको शुभारम्भ जनाएको छ। अनुष्ठानपछि आयोजित भेटघाट कार्यक्रममा नेताहरूले स्थानीय समस्या, विकासका प्राथमिकता र आगामी योजनाबारे कार्यकर्तासँग छलफल गरेका थिए।
कार्यक्रममा बोल्दै गाउँपालिका सभापति किसन सिंह सामन्तले कांग्रेसले सधैं जनताको भावना, विश्वास र आवश्यकतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने बताउनुभयो। उहाँले लोकतन्त्र, सुशासन र समावेशी विकास कांग्रेसको मूल एजेन्डा रहेको उल्लेख गर्दै संगठनलाई गाउँ–गाउँसम्म मजबुत बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो।
प्रमुख अतिथि क्षेत्रीय सभापति मन्दिर सिंह धामीले दार्चुला जिल्लाको समग्र विकासका लागि एकताबद्ध भएर चुनावी अभियानमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन। उहाँले सीमावर्ती जिल्ला दार्चुलामा विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा कांग्रेसले स्पष्ट योजना अघि सारेको भन्दै जनताको विश्वास जित्ने आधार कांग्रेससँग रहेको दाबी गर्नुभयो।
कार्यक्रममा सहभागी नेताहरूले धर्मानन्द जोशीको उम्मेदवारी जिल्लाको विकास, सुशासन र जनताको आवाजलाई संसदसम्म पुर्याउने महत्वपूर्ण अवसर भएको बताएका थिए। कार्यकर्ताहरूले घरदैलो, जनसम्पर्क र सांगठनिक गतिविधिलाई तीव्र बनाउने निर्णयसमेत गरेका छन्।
कार्यक्रमको अन्त्यमा आगामी दिनमा गाउँपालिका भित्रका विभिन्न वडामा चुनावी भेटघाट, छलफल र प्रचार कार्यक्रमलाई निरन्तरता दिने योजना सार्वजनिक गरिएको थियो। मालिकार्जुन मन्दिरबाट सुरु भएको यस चुनावी अभियानले कांग्रेसको संगठनलाई थप सशक्त बनाउने विश्वास रहेको सभापति सामन्तले जानकारी दिनुभयो।