नेकपा एमाले : दार्चुलामा महाधिवेसन प्रतिनिधिका लागि २४ जनाको उम्मेदवारी

दार्चुला। दार्चुलामा नेकपा एमालेको महाधिवेसन प्रतिनिधिका लागि २४ जनाको उम्मेदवारी परेको छ । ६ हजार ३ सय ८१ जना संगठित सदस्य रहेको दार्चुलामा महाधिवेसनका लागि कम्तिमा ११ जना प्रतिनिधि छनोट हुने भएको छन् ।

शुक्रबार उम्मेदवारी दर्ताको समय रहेकोमा दुई जना दलित, सात जना महिला र १५ जना खुल्ला गरी २४ जनाले उम्मेदवारी दिएका छन् । दुई जना दलित, चार जना महिला र पाँच जना खुल्ला प्रतिनिधि छनोट हुने एमाले दार्चुलाका नेता हिरासिह धामीले जानकारी दिनुभयो । दलिततर्फ दुई जनाको मात्रै उम्मेदवारी परेकोले निर्विरोध हुने बताइएको छ । भने अरु पदहरुमा समेत सहमतिको प्रयास भइरहेको र सहमति नजुटे शनिबार निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिने उहाँले बताउनुभयो ।

नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीसहित २४ जनाको उम्मेदवारी परेपछि सहमतिमै उम्मेदवारी फिर्ताको पहल भइरहेको छ । सहमतिमै प्रतिनिधि चयन गर्नका लागि कम्तीमा पनि तीन जना महिला र १० जना पुरुषले उम्मेदवारी फिर्ता लिनुपर्ने एमाले दार्चुलाका सदस्य खेमराज जोशीले बताउनुभयो ।

नेकपा एमालेले आउँदो महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । एमालेले मङ्सिर १०, ११ र १२ गते चितवनमा हुने दशौँ महाधिवेशनको प्रचार कार्यलाई तीव्र बनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले विगतमा भन्दा फरक र नयाँ ढङ्गले महाधिवेशनको प्रचार अगाडि बढाएको र यसपालि कपडाको ब्यानर र भित्ते लेखन नहुने जानकारी दिनुभयो ।

उहाँले महाधिवेशनमा सामाजिक सञ्जाललगायत डिजिटल माध्यमलाई बढी सक्रिय बनाउने बताउनुभयो । एमाले दार्चुलाको जिल्ला अधिवेसन आयोजक कमिटीको बैठक शनिवार दार्चुला सदरमुकाम खलंगामा बस्ने भएको छ । महाधिवेसनपछि जिल्ला अधिवेसन गर्ने गरी तयारी भइरहेको नेताहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.