दार्चुला । नेपाली कांग्रेस दार्चुलाका उम्मेदवार धर्मानन्द जोशीले चुनावी अभियानलाई सघन बनाउँदै लेकम गाउँपालिकाका विभिन्न टोलटोलमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो अभियान सञ्चालन गरेका छन्। शुक्रबार उनी लेकम गाउँपालिकाको लाली क्षेत्रमा पुगेर स्थानीय मतदातासँग संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षा बुझ्ने प्रयास गरेका हुन्।
घरदैलो अभियानका क्रममा जोशीले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत्, रोजगारी र युवाको भविष्यसँग सम्बन्धित विषयहरूमा स्थानीयको धारणा सुनेको बताए। दुर्गम बस्तीका जनताले आधारभूत सेवामा अझै पनि कठिनाइ भोग्नुपरेको गुनासो राखेको उल्लेख गर्दै उनले ती समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो “जनताले राख्नुभएको प्रत्येक समस्या मेरो लागि एजेन्डा हो,” जोशीले भने, “यी विषयलाई नीतिगत तहसम्म पुर्याएर समाधान खोज्ने मेरो प्रयास हुनेछ।”
जोशीका अनुसार घरदैलो भेटघाटमा जनताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। स्थानीयले विकास, सुशासन र जवाफदेही नेतृत्वको अपेक्षा व्यक्त गर्दै नेपाली कांग्रेसप्रति विश्वास देखाएको उनको भनाइ छ। प्रत्यक्ष संवादका कारण मतदाता र उम्मेदवारबीचको दूरी घटेको र यसले जनविश्वास बढाएको जोशीले बताए।
चुनावी भेटघाटमा युवाको उल्लेखनीय सहभागिता देखिएको उल्लेख गर्दै जोशीले पछिल्लो समय ‘जेन्जी’ अर्थात् नयाँ पुस्ताको चाहना र मागअनुसार आफू राजनीतिमा होमिएको जानकारी दिनुभयो। “आजको पुस्ताले परिणाम देखिने काम चाहन्छ। भाषणभन्दा काम र पारदर्शितालाई प्राथमिकता दिनुपर्छ भन्ने युवाको आवाजलाई प्रतिनिधित्व गर्न म राजनीतिमा आएको हुँ,” उनले भने।
जोशीले युवाको रोजगारी, सीप विकास, स्वरोजगार र स्थानीय स्रोतसाधनको सदुपयोगलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताए। कृषि, पर्यटन र साना उद्यममार्फत स्थानीय तहमै अवसर सिर्जना गर्न सकिने उनको धारणा छ।
लेकम गाउँपालिकाका स्थानीय बासिन्दाले उम्मेदवार आफैं घरदैलोमा आउनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। प्रत्यक्ष भेटघाटका कारण आफ्ना समस्या र सुझाव खुलस्त राख्न पाएको उनीहरूको भनाइ छ।
नेपाली कांग्रेसले जिल्लाभर संगठन सुदृढीकरण गर्दै चुनावी अभियानलाई गाउँ–गाउँसम्म पुर्याउने रणनीति अपनाएको छ। सोही रणनीतिअनुसार उम्मेदवार जोशी सक्रिय रूपमा मैदानमा उत्रिएर जनतासँग भेटघाट गरिरहेका छन।
आगामी दिनमा पनि लेकम गाउँपालिका सहित दार्चुलाका अन्य स्थानीय तहमा घरदैलो अभियान, अन्तर्क्रिया र आमसभामार्फत जनसम्पर्कलाई थप प्रभावकारी बनाइने जोशीले जानकारी दिए। जनताको विश्वास र सहभागितामै लोकतन्त्रको शक्ति रहेको उल्लेख गर्दै उनले विकास र परिवर्तनको यात्रामा साथ दिन मतदातालाई आग्रह गरेका छन्।
घरदैलोमा लेकमको लाली क्षेत्रमा पुगेका जोशीले जनताको सकारात्मक सोच रहेको जानकारी दिनुभयो।
