दार्चुलाको नागुका स्थानीयले गरे आगामी प्रतिनिधि सभा निर्वाचन बहिष्कार

दार्चुला । दार्चुलाको एक गाउँका मतदाताहरुले आगामी प्रतिनिधि सभा निर्वाचनमा मतदान नगर्ने बताएका छन् ।

जिल्लाको नौगाड गाउँपालिकामा पर्ने नागुका स्थानीयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय निर्णय गदैँ निर्वाचन बहिष्कार गरेका हुन् ।

माघ १ गते बसेको स्थानीयको भेलाले यहाँको गौरीशङ्कर माध्यमिक विद्यालय नागु मतदान केन्द्रमा रहेका मतदाता निर्वाचन प्रक्रियामा सहभागी नहुने तथा कुनै पनि राजनीतिक दललाई प्रचारप्रसारमा रोक लगाउने निर्णय गरेको बताइएको छ ।

यहाँका १२१ जना स्थानीय भेला भएर गरिएको छलफलपछि सो निर्णय गरिएको स्थानीय ठगेन्द्रसिंह जुहारीले जानकारी दिए । स्थानीयले नागुक्षेत्र विकास निर्माणका कारणले पिछिडिएको क्षेत्र भएको भन्दै विकासका लागि पहल गर्न सङ्घर्ष समिति समेत निर्माण गरेका छन् । स्थानीय करनसिंह डडालको संयोजकत्वमा १५ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको छ ।

भेलाले हाल निर्माणाधीन अवस्थामा रहेको दल्लेख–नागु–सीना सडकखण्डको निर्माण विगत लामो समयदेखि रोकिनुको कारण र यथाशीघ्र काम गर्न सम्बन्धित निकायमा अवगत गराउने निर्णय गरिएको उनले बताए । गौरीशङ्कर मावि मतदान केन्द्रमा जम्मा ६०२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा विभन्न दलका ११ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । दार्चुलामा ९२ हजार ९४८ जना मतदाता रहेका छन् ।

Leave A Reply

Your email address will not be published.