दार्चुला । दार्चुलाको अति दुर्गम व्याँस गाउँपालिका–४, सुन्सेरामा पहिलो पटक बस पुगेको छ। निर्माणाधीन दार्चुला–टिंकर सडक हुँदै बस सुन्सेरास्थित चिलघोले मन्दिरसम्म पुगेपछि स्थानीयवासीले खुसी व्यक्त गर्दै चालकसहित यातायातकर्मीलाई स्वागत गरेका छन्।
दार्चुला–काठमाडौं रुटमा सञ्चालन हुँदै आएको महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३०२ नम्बरको बस पहिलो पटक व्याँस गाउँपालिकाको केन्द्र सुन्सेरास्थित चिलघोले मन्दिरसम्म पुगेको गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुँवरले जानकारी दिए।
दुर्गम बस्तीमा पहिलो पटक बस पुगेपछि स्थानीयवासीले चालक शुभास भट्टसहित बसका कर्मचारीलाई फूलमाला र अबिर लगाएर स्वागत गरेका हुन्। जय गोरखनाथ सचेतना समाज र स्थानीय आमा समूहको अगुवाइमा चालक तथा यातायात व्यवसायीलाई स्वागत गरिएको बताइएको छ।
नेपालतर्फ नियमित यातायातका साधन सञ्चालन नहुँदा व्याँसका स्थानीयवासी अझै पनि जिल्ला सदरमुकाम खलंगा आवतजावत गर्न भारतको बाटो प्रयोग गर्न बाध्य छन्। यसअघि दार्चुला–टिंकर सडकमा जिप र ट्याक्टर सञ्चालन हुँदै आएका थिए।
दुर्गम बस्तीमा पहिलो पटक बस पुगेपछि स्थानीयवासीमा उत्साह छाएको छ। बस सेवा विस्तार हुन सके सदरमुकामसँगको आवागमन सहज हुने र स्थानीयको दैनिक जीवनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
बस चालक शुभास भट्टका अनुसार सुन्सेरासम्मको सडकका केही खण्डमा सुधार गर्न सके तिहारअघि नै काठमाडौंसम्म नियमित बस सेवा सञ्चालन गर्ने तयारी छ। सडकका केही स्थानमा अझै आवागमन कठिन रहेकाले ती खण्डमा सुधार गर्न आवश्यक रहेको उनले बताए।
दार्चुलाको व्याँस गाउँपालिकालाई जिल्ला सदरमुकाम तथा देशका अन्य भागसँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा रहेको दार्चुला–टिंकर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ। सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेसँगै यस क्षेत्रका बासिन्दाले नेपालतर्फबाटै नियमित यातायात सेवा पाउने अपेक्षा गरेका छन्।
