दार्चुलामा एकीकृत सुरक्षा योजना लागू

दार्चुला । दार्चुलामा एकीकृत सुरक्षा योजना लागू गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी दार्चुला प्रशासनले एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको हो । भयरहित निर्वाचन सम्पन्न गर्न तिन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु  एकीकृत सुरक्षा योजनाअनुसार परिचालित भएका हुन्।

यो योजना निर्वाचन अघि र निर्वाचन पछिसम्म पनि लागू रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। उनले सुरक्षाको सबै प्रबन्धको तयारी पूरा भएको समेत जानकारी दिए ।

निर्वाचनलाई सुरक्षित, भयरहित एवं मर्यादित बनाउन लागू भएको एकीकृत सरक्षा योजनाअनुसार दार्चुला निर्वाचनमा सुरक्षाकर्मीका तीन वटै निकाय जनपद, सशस्त्र र अनुसन्धान तथा कर्मचारी परिचालन भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

निर्वाचन सुरक्षामा नेपाली सेनाको टोली पनि परिचालित गरिने बताइएको छ । जिल्लामा १ सय १२ मतदानस्थल तथा १ सय ४३ मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने गरी एकीकृत सुरक्षा योजना लागू गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

दार्चुलामा प्रतिनिधिसभा निर्वाचनका लागि ११ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् ।

Leave A Reply

Your email address will not be published.