दार्चुलामा ११ जना चुनावी मैदानमा, मुख्य दलहरूलाई नयाँको चुनौती
रास्वपाले कांग्रेस र एमालेको परम्परागत मत काट्ने निश्चित
दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनाव दार्चुलामा यसपटक विगतभन्दा नितान्त फरक हुनेछ । सधैँ नेपाली कांग्रेस र नेकपा एमालेबिच मात्र मुख्य प्रतिस्पर्धा सीमित रहने दार्चुलामा यसपटक नयाँ दल र अन्य विकल्पको सशक्त उपस्थितिले पुराना दलहरूको गणित बिगार्न सक्ने संकेत देखिएको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाको प्रतिनिधि सभाको एक सिटका लागि यसपटक यहाँ ११ जना चुनावी मैदानमा छन् । यहाँ मुख्य निर्वाचनमा भने पाँच जनाबिच मुख्य प्रतिस्पर्धा हुने चर्चा छ । परम्परागत शक्तिहरू नेकपा एमाले र नेपाली कांग्रेस आफ्नो विरासत जोगाउने दाउमा छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी यसपटक नतिजा उल्ट्याउने रणनीतिमा छन् । मैदानमा एमालेबाट पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, कांग्रेसबाट नयाँ अनुहार धर्मानन्द जोशी, नेकपाबाट लक्ष्मणदत्त जोशी, रास्वपाबाट पूर्वशिक्षक राजेशसिंह सामन्त र राप्रपाबाट पूर्वकर्णेल राजेश चन्द छन् ।
यस्तै, विप्लव नेतृत्वको नेकपाबाट नवराज भट्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गगन ठगुन्ना, आमजनता पार्टीबाट प्रेमसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट रमेश कुमार रावल र नेकपा संयुक्तबाट विद्यादेव जोशी पनि प्रतिस्पर्धामा छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजकसमेत रहेका गणेशसिंह ठगुन्ना दार्चुलाका लागि परिचित नाम हो, उनी यसपटक आफ्नो गुमेको साख फर्काउने र संसदीय राजनीतिमा तेस्रो जित निकाल्ने दाउमा छन् ।
ठगुन्नाको राजनीतिक ग्राफ हेर्दा उनी २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भारी मतले विजयी भएका थिए । २०७९ को निर्वाचनमा भने उनको विजय यात्रामा ब्रेक लाग्यो । त्यसबेला नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका कारण कांग्रेसका दिलेन्द्र प्रसाद बडुसँग उनी पराजित हुन पुगेका थिए ।
बडुले ठगुन्नालाई २,१३४ मतले पराजित गर्दै विजयी भएका थिए । बडुले २८,५१५ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी ठगुन्नाले २६,३८१ मत प्राप्त गरेका थिए । यसपटक बडुले निर्वाचन नलड्ने घोषणा गरेका छन् । अहिले भने गठबन्धनको समीकरण बदलिएको र आफ्नो व्यक्तिगत प्रभावका कारण पुन: जित निकाल्नेमा ठगुन्ना विश्वस्त देखिन्छन् । स्थानीय तहमा एमालेको बलियो संगठन उनको मुख्य आधार हो ।
लामो समय दार्चुलाको राजनीतिमा एकछत्र राज गरेका नेता दिलेन्द्र प्रसाद बडुले निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेसले धर्मानन्द जोशीलाई अघि सारेको हो । दार्चुलाको चुनावी इतिहास हेर्दा यहाँ मुख्यत: कांग्रेस र एमाले नै आलोपालो सत्तामा पुगेको देखिन्छ । २०४८ मा राप्रपाले एउटा क्षेत्र जितेको र २०६४ मा माओवादीले जितेको बाहेक यहाँ दुई ठुला दलकै वर्चस्व छ ।
शैल्यशिखर नगरपालिका–८ पपरथला निवासी जोशीको पृष्ठभूमि रोचक छ । उनी कानुनी क्षेत्रमा दक्खल राख्ने बौद्धिक व्यक्तित्व हुन् । जोशीलाई कांग्रेसले टिकट दिएर नयाँ मतदातालाई आकर्षित गर्न खोजेको देखिन्छ, तर बडुजस्तो हस्तीको स्थान लिनु र पार्टीभित्रको गुटबन्दी मिलाउँदै एमालेको बलियो संगठनसँग जुध्नु जोशीका लागि चुनौती रहेको उनीनिकट नेताहरू बताउँछन् । एमाले र कांग्रेसका नेताले यहाँ जित आ–आफ्नो पक्षमा रहेको सहजै स्वीकार गरे पनि वास्तविकता भने यसपटक निकै फरक छ । यसपटक रास्वपा र राप्रपाको सशक्त उपस्थिति देखिन्छ ।
रास्वपाका उम्मेदवार राजेशसिंह सामन्त स्थानीयस्तरमा प्रतिष्ठित व्यक्तिका रूपमा चिनिन्छन् । राष्ट्रिय माध्यमिक विद्यालय दत्तुका प्रधानाध्यापकको जागिर छोडेर राजनीतिमा आएका सामन्तले छोटो समयमै जिल्लाभर संगठन विस्तार गरेका छन् । पुराना दलहरूप्रति वितृष्णा जागेको युवा पुस्ता र जेनजी मतदाताको आकर्षण उनीप्रति देखिन्छ । शिक्षा क्षेत्रमा पुर्याएको योगदानका कारण उनको व्यक्तिगत भोट बैंक राम्रो छ । रास्वपाले कांग्रेस र एमाले दुवैको परम्परागत मत काट्ने निश्चित छ ।
अर्कोतर्फ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि यसपटक जिल्लामा राम्रो माहोल बनाएको छ । नेपाली सेनाका सेवानिवृत्त कर्णेल राजेश चन्द राप्रपाका तर्फबाट मैदानमा छन् । उनी प्रहरी पूर्वमहानिरीक्षक रमेश चन्दका सहोदर भाइ हुन् । सुरक्षा पृष्ठभूमि र सम्भ्रान्त परिवारका चन्दको उम्मेदवारीले राष्ट्रवादी र राजावादी धारका मतदातालाई उत्साहित बनाएको बताइएको छ ।
यसपटक फेरि दलहरू एक्लाएक्लै जस्तै मैदानमा छन् । स्थानीय तहको गणित हेर्दा एमाले बलियो देखिन्छ । एमालेले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकाको नेतृत्व जितेको छ । लेकममा पनि उसको पकड राम्रो छ, तर स्थानीय तहको मत संसदीय निर्वाचनमा जस्ताको तस्तै ट्रान्सफर हुन्छ भन्ने ग्यारेन्टी छैन ।
यहाँ २०६४ को पहिलो संविधानसभा निर्वाचनमा दार्चुलामा माओवादीले ऐतिहासिक जित निकालेको थियो ।
त्यसबेला निर्वाचित भएका लक्ष्मणदत्त जोशी अहिले नेकपाबाट उम्मेदवार बनेका छन् । २०६४ पछि संसदीय राजनीतिमा खासै अवसर नपाएका जोशी लामो अन्तरालपछि मैदानमा फर्किएका हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा यो दलले अपि हिमाल, मार्मा, लेकम र नौगाड गाउँपालिकामा राम्रो नतिजा ल्याएको थियो । स्थानीय तहको त्यो नतिजालाई आधार मान्ने हो भने जोशीलाई कमजोर आँक्न मिल्दैन, उनी तेस्रो शक्तिका रूपमा उदाउन सक्ने विश्लेषण गरिन्छ ।
दार्चुलाको चुनावी इतिहास हेर्दा यहाँ मुख्यत: कांग्रेस र एमाले नै आलोपालो सत्तामा पुगेको देखिन्छ । २०४८ मा राप्रपाले एउटा क्षेत्र जितेको र २०६४ मा माओवादीले जितेको बाहेक यहाँ दुई ठुला दलकै वर्चस्व छ ।
२०७४ मा वाम गठबन्धन हुँदा एमालेका ठगुन्नाले २८,९९८ मत ल्याएर कांग्रेसका विक्रमसिंह धामी (२२,२३३ मत) लाई हराएका थिए । २०७० मा दलहरू एक्लाएक्लै लडेका थिए, त्यो बेला पनि एमालेका ठगुन्ना नै विजयी भएका थिए ।
यसपटक फेरि दलहरू एक्लाएक्लै जस्तै मैदानमा छन् । स्थानीय तहको गणित हेर्दा एमाले बलियो देखिन्छ । एमालेले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकाको नेतृत्व जितेको छ । लेकममा पनि उसको पकड राम्रो छ, तर स्थानीय तहको मत संसदीय निर्वाचनमा जस्ताको तस्तै ट्रान्सफर हुन्छ भन्ने ग्यारेन्टी छैन ।
कुल ९२,९४८ मतदाता रहेको दार्चुलामा यसपटकको नतिजा कसको पक्षमा जान्छ, यसै भन्न सकिने अवस्था छैन । यहाँ मतदाताहरूबारे सोधपुछ गर्दा यसपटक नयाँलाई नै मौका दिने बताउँछन् । शैल्यशिखर नगरपालिका–४ का स्थानीय रमेश बोहराले आफू युवा भएकाले युवा उम्मेदवारलाई रोज्ने बताए । उनले जिल्लाको माहोल अहिले निकै फरक भएको बताए । विगतमा ठुला दलको पक्षमा भोट जाने गरे पनि यसपटक भने परिवर्तन हुने उनले बताए ।
यस्तै अपिहिमाल गाउँपालिकाका बिरमान बोहराले भने चुनावमा केही भन्न सकिने अवस्था नरहेको बताए । ‘चर्चा र वास्तविकतामा फरक हुन्छ, नयाँले ठुला दललाई चुनौती दिने भनिए पनि वास्तविकता फरक हुन सक्छ,’ उनले भने ।