दार्चुला – नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले कांग्रेसले आउँदो चुनावमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको पाँच वर्षमा आफूले गर्ने कामको सूची बनाएर जानुपर्ने बताउनुभएको छ । आज सोमवार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट काठमाण्डौ महानगरपालिकाका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले यस्तो बताउनुभएको हो ।
नेता थापाले नेपाली कांग्रेसले राष्ट्रिय निर्णय गर्दा मतदाता र आम नागरिक खुसी हुने गरी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज अदालतमा यत्रो ठूलो समस्या देखिरहेका छौँ,अदालत स्वतन्त्र रहनुपर्छ, न्यायालय शुद्ध हुनुपर्छ, अदालतभित्रको नेतृत्व नै विचलित भयो भने त्यहाँभित्र न्याय मर्छ र स्वतन्त्र न्यायपालिका र न्यायालयका लागि कांग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर एउटा मतदाताले रुख चिह्नमा मत हाल्छ, त्यो कुरामा चुक्यो भने मतदाता रिसाउँछ हाम्रो मत घट्छ । नेपाली कांग्रेसको १२र१५ लाख यस्तो मतदाता छ, कांग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँमा चुक्यो भने मतदाताले मत हाल्दैनन, दण्ड दिन्छन्, त्यो मतदाता जोगाउनु पर्नेछ । ३५ लाख मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली कांग्रेसले चुनावमा लिएर जानुपर्छ, मतदाता जम्मा पार्न कांग्रेसले ४र५ वर्षमा के गर्छ भनेर बताउनु सक्नुपर्छ, कांग्रेसले पाँच वर्ष मौका पायो भने के गर्छ भन्ने कुराको योजना बनाएर नागरिकको बीचमा जानुपर्छ ।’
नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके कांग्रेस अब आउने चुनावमा पहिलो एकल पार्टी भएर आउने दाबी गर्नुभयो । उहाँले हिजो आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताउनुभयो ।