दार्चुलाका स्थानीय तहले थपे न्यूनतम रोजगार कार्यक्रममा आवेदन दिने समय

दार्चुला । दार्चुलाका स्थानीय तहहरुले ’न्यूनतम रोजगार कार्यक्रम’ अन्तर्गत संलग्न हुन इच्छुक बेरोजगारहरूको लागि आवेदन दिने समय थप गरेका छन् । स्थानीय तहले चालु आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने ’न्यूनतम रोजगार कार्यक्रम’ अन्तर्गत संलग्न हुन इच्छुक बेरोजगारहरूको लागि आवेदन दिने समय थप गरेका हुन ।

जिल्लाका स्थानीय तहले चैत्र मसान्तसम्म समय थप गरेको जानकारी दिएका छन् । यस अघि यहाँका स्थानीय तहले फागुन मसान्तसम्मको समय दिएका थिए । प्रतिनिधि सभा निर्वाचनका कारण न्यूनतम रोजगार कार्यक्रम एक महिना म्याद थप गर्नु परेको स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतले बताएका छन् ।

यस कार्यक्रमअन्तर्गत १८ वर्ष पुरा गरी ५९ वर्ष ननाघेका विपन्न, न्यून आय भएका वा स्वरोजगारमा संलग्न नभएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । अघिल्लो आर्थिक वर्षमा सूचीमा सूचीकृत भएका बेरोजगारहरूले पनि यस वर्षका लागि आफ्नो आवेदन नवीकरण गर्नुपर्ने जनाइएको छ । आवेदन स्थायी बसोबास भएको सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित पेश गर्न सकिनेछ ।

आवेदनका लागि आवश्यक कागजातमा वडा अध्यक्षबाट प्रमाणित आवेदन फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति हालै खिचिएको पासपोर्ट साइज फोटो, बसाइसराइ प्रमाणपत्र (यदि स्थानान्तरण भएको हो भने), कुनै सीपमूलक तालिम लिएको भए सोको प्रमाणपत्र, र परिवारका सदस्यहरूको नागरिकता प्रमाणपत्र वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि समावेश छन् ।

Leave A Reply

Your email address will not be published.