दार्चुला । शिक्षा विकास तथा समन्वय इकाइ,कार्यालय दार्चुलाले शैक्षिक सत्र २०८२ का कक्षा १२ को वार्षिक (नियमित तथा ग्रेडवृद्धि) परीक्षाका लागि जिल्लाभर विभिन्न परीक्षा केन्द्र तोकेको छ। तोकिएका केन्द्रहरूमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्।
जिल्लामा कुल १० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। ती केन्द्रहरूमा महेन्द्र मावि खलंगा, गोकुलेश्वर मावि गोकुले, शंकरपुर मावि पस्ती, हिमालय मावि हुति, लटिनाथ मावि रस्कोट , लटिनाथ मावि चन्दनपुर चौपता, जनविकास मावि बारबाज, गणेश विनायक मावि सिप्टी, मालिकार्जुन मावि धाप र कृष्ण मावि बलाच रहेका छन्।
यी केन्द्रहरूमा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई समायोजन गरिएको छ। केन्द्रअनुसार विद्यार्थी संख्या फरक–फरक रहेको छ। प्राप्त विवरणअनुसार गोकुलेश्वर मावि गोकुले केन्द्रमा सबैभन्दा बढी २९७ विद्यार्थी रहेका छन् भने अन्य केन्द्रहरूमा क्रमश: १८४, ९४, ४६, ५८, १५५, ५५, ७२, ५४ र ६१ विद्यार्थी रहेका छन्।
सबै केन्द्रहरू मिलाएर जिल्लाभर कुल १,०७६ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। शिक्षा विकास तथा समन्वय इकाइले तोकिएका केन्द्रहरूमा व्यवस्थित र मर्यादित रूपमा परीक्षा सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको जनाएको छ। साथै, परीक्षालाई निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरिएको छ। परीक्षा बैशाख १४ गतेबाट संञ्चालन गरिने भएको छ ।
