दार्चुला । नौगाड गाउँपालिका–४, सिप्टीले विषु मेला व्यवस्थापन सम्बन्धमा कडा निर्देशन जारी गरेको छ। वडा कार्यालयले सूचना जारी गर्दै मेला अवधिभर मदिरा सेवन, बिक्री–वितरण तथा हो–हल्ला गर्ने जस्ता गतिविधि पूर्ण रूपमा प्रतिबन्ध गरिएको जनाएको छ।
सूचना अनुसार, सिप्टी दुर्गा मन्दिर परिसरमा सञ्चालन हुने विसु मेला बैशाख १ गतेदेखि ३ गतेसम्म आयोजना हुनेछ। मेलालाई सभ्य, भव्य र मर्यादित बनाउन वडा समिति, सुरक्षा निकाय, स्थानीय व्यवसायी तथा सरोकारवालाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
मेला अवधिभर मदिराजन्य क्रियाकलाप, जुवातास खेल्ने तथा अशान्ति सिर्जना गर्ने कुनै पनि गतिविधि गर्न नपाइने स्पष्ट पारेको छ। यस्ता कार्यमा संलग्न पाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
त्यसैगरी, मेला अवधिमा सडक व्यवस्थापनलाई सहज बनाउन एम्बुलेन्स, शववाहन र दमकल बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइने जनाइएको छ। सवारीधनीलाई आफ्नो सवारी साधन निर्धारित स्थानमा पार्क गरी सहयोग गर्न अनुरोध गरिएको छ।
वडा कार्यालयले सबै स्थानीयवासी तथा सहभागीलाई नियमको पालना गरी मेलालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरेको छ।
