एमालेले संगठन सुदृढीकरण अभियान चलाउछ : सांसद ठगुन्ना
दार्चुलाबासीले दिएको जनादेश अनुसार पार्टी र आफू अगाडि बढ्ने प्रतिबद्धता
दार्चुला । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले पार्टी सुदृढीकरण अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइने बताएका छन्।
मंगलबार दार्चुला–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले नेकपा एमाले संगठनलाई अझ बलियो, व्यवस्थित र जनमुखी बनाउन अभियानमा केन्द्रित हुने स्पष्ट पारे।
उनले पार्टीभित्र एकता, अनुशासन र सक्रियतालाई मजबुत बनाउँदै जनताको अपेक्षा अनुरूप सुदृढीकरण अभियानलाई अघि बढाइने बताए। साथै, कार्यकर्ताहरूलाई पार्टीका नीति, सिद्धान्त र कार्यक्रम जनस्तरसम्म पुर्याउन सक्रिय भूमिका खेल्न आह्वान गरे।
सांसद ठगुन्नाले देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै एमालेले जनताको भरोसा जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए। सुदृढ संगठन निर्माण नै पार्टीको प्रमुख लक्ष्य भएको उनको भनाइ थियो।
दार्चुलाबासीले दिएको जनादेशप्रति आभार व्यक्त गर्दै उनले सोही जनादेशअनुसार पार्टी र आफू अगाडि बढ्ने प्रतिबद्धता जनाए। उनले २०८२ साल एमालेका लागि चुनौतीपूर्ण वर्ष रहेको उल्लेख गर्दै विभिन्न घटनाले पार्टीलाई असर पारेको बताए।
उनका अनुसार गत फागुन २१ गतेको निर्वाचन एमालेका लागि चुनौतीपूर्ण बनेको थियो र देशभर एमालेविरुद्ध माहोल सिर्जना भएको थियो। लोकतन्त्रविरोधी तथा प्रतिगामी शक्तिहरूले पार्टीमाथि प्रहार गरेको आरोप लगाउँदै उनले नेपाली कांग्रेस लगायत अन्य शक्तिहरूले एमालेलाई कमजोर बनाउने प्रयास गरेको बताए।
उनले भदौ २३ र २४ गतेका घटनामा विभिन्न दलका कार्यकर्ताहरूको संलग्नता रहेको दाबी गर्दै उक्त आन्दोलनले केवल एमाले मात्र नभई समग्र प्रणाली र संरचनामा असर पारेको उल्लेख गरे।
ठगुन्नाले आत्मसमिक्षाको आवश्यकता औंल्याउँदै पार्टीभित्रका कमजोरीहरू पहिचान गरी सुधार गर्नुपर्ने बताए। “अरूको आलोचना मात्र गरेर हुँदैन, आफ्ना कमी–कमजोरी सुधार गर्नुपर्छ,” उनले भने।
उनले थपे, “पार्टीभित्र अवसरवाद र व्यक्तिगत स्वार्थ हावी हुने प्रवृत्ति देखिएको छ, जसलाई नियन्त्रण गर्न आन्तरिक समीक्षा आवश्यक छ।”अन्त्यमा उनले वर्तमान सत्तामा रहेका शक्तिहरूलाई जनताको अपेक्षाअनुसार काम गर्न चुनौती दिँदै एमालेले समयको प्रतीक्षा गर्दै जनताको विश्वास पुन: जित्ने विश्वास व्यक्त गरे।