काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता छान्नको लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ। पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको सहमहामन्त्री प्रकाश रसाइली स्नेही नेतृत्वमा समितिले निर्वाचन प्रक्रिया सुरु गरेको हो।
निर्वाचन कार्यतालिका अनुसार आज कांग्रेसले मतदाता नामावली सार्वजनिक गरिएको नेता रसाइलीले बताए। वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, ४–५ बजेसम्म मतदान हुने कार्यतालिकामा छ।
कार्यतालिका अघि बढाएपनि कांग्रेसले दलको नेता सहमतिमै टुंग्याउनेगरी छलफल गरिरहेको छ। तर सहमति नजुटे भोलि निर्वाचन लगत्तै मतगणना गरेर नजिता घोषणा गर्ने तयारी गरेको छ।
दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन्। यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन्।
कांग्रेसभित्रको आन्तरिक किचलोका कारणले दलको नेता चयन गर्न ढिलाइ भइरहेको छ। तर सर्वोच्चले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई नै मान्यता दिएपछि निर्वाचन प्रक्रिया अघि बढाएको हो।
कांग्रेस प्रमुख प्रतिपक्षी दल भएकाले संवैधानिक परिषद्मा समेत प्रतिनिधित्व हुने भएकाले दलको नेता छान्न सकस परिरहेको छ।