दार्चुला । सरकारको शासकीय सुधार अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालय दार्चुलाले सेवाग्राहीको सहजताका लागि कार्यालय परिसर बाहिरै सहायता कक्ष सञ्चालनमा ल्याएको छ। यस पहलले सेवाग्राहीलाई सेवा लिन अझ सरल, छिटो र व्यवस्थित वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।
सहायता कक्षमार्फत सेवाग्राहीले सेवाप्रवाहसँग सम्बन्धित विभिन्न विषयमा आवश्यक जानकारी लिन सक्नेछन्। कुनै कागजात, प्रक्रिया वा अन्य जिज्ञासाबारे सोधपुछ गर्नुपरेमा सहायता कक्षमा खटिएका कर्मचारीसँग सिधै सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यालयले सेवाग्राहीका गुनासा तथा सुझावलाई समेत उच्च प्राथमिकतामा राखेको जनाएको छ। त्यसका लागि अनलाइन तथा अफलाइन दुवै माध्यमबाट सुझाव र गुनासा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
यस कदमले सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व र प्रभावकारिता वृद्धि गर्ने विश्वास लिइएको छ। साथै, सेवाग्राही र कार्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।