अपिनाम्पा संरक्षण क्षेत्र जिल्ला परिषद् अध्यक्षमा ठेकरे सर्वसम्मत निर्वाचित

दार्चुला । दार्चुलामा अपिनाम्पा संरक्षण क्षेत्र जिल्ला परिषद् अध्यक्ष पदमा अपिहिमाल गाउँपालिकाका युवा जनक सिंह ठेकरे सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । परिषद्को बैठकले सर्वसम्मत निर्णय गर्दै ठेकरेलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो।

स्थानीय स्तरमा सक्रिय र युवामाझ लोकप्रिय मानिएका ठेकरे संरक्षण, पर्यटन प्रवद्र्धन तथा दिगो विकासका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्। उनको नेतृत्वमा अपिनाम्पा संरक्षण क्षेत्रको व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास गरिएको छ।

नवनिर्वाचित अध्यक्ष ठेकरेले संरक्षण क्षेत्रको जैविक विविधता जोगाउँदै स्थानीय समुदायको जीवनस्तर सुधारमा जोड दिने बताएका छन्। उनले सबै सरोकारवालासँग सहकार्य गर्दै पारदर्शी र उत्तरदायी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अपिनाम्पा संरक्षण क्षेत्र नेपालको महत्वपूर्ण प्राकृतिक सम्पदा मध्ये एक मानिन्छ, जहाँ हिमाली जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा प्राकृतिक सौन्दर्य पाइन्छ।

२०६७ असार २८ गते साबिकका २१ गाविसलाई समेटेर घोषणा गरिएको संरक्षण क्षेत्रमा परिषद् गठनका लागि सहमति नहुनु तथा कानुनी जटिलताले गर्दा परिषद् गठन हुन सकेको थिएन् । परिषद्को पहिलो पाँचवर्षीय कार्यकाल २०७६ सालमै सकिएको भए पनि त्यसयता परिषद् गठन हुन सकेको थिएन् ।

Leave A Reply

Your email address will not be published.