मालिकार्जुनको दश शय्या आधारभूत अस्पताल सञ्चालनको लागि ६४ लाख बजेट स्वीकृत

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा सञ्चालनमा आएको दश शय्या अस्पतालका लागि संघीय सरकारले बजेट स्वीकृत गरेको छ। यसअघि गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, औजार तथा उपकरण व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बजेट माग गरेको थियो। सोही अनुसार असार मसान्तसम्म अस्पताल सञ्चालनका लागि ६४ लाख रुपैयाँ उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिए ।

प्राप्त बजेटबाट आवश्यक उपकरण तथा औषधि खरिद गर्नुका साथै जनशक्ति व्यवस्थापन गरिने अध्यक्ष धामीले जानकारी दिनुभयो। नव निर्मित भवनबाट सेवा सुरु भएको अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न बजेटले महत्वपूर्ण सहयोग पुग्ने उनको भनाई छ ।

भौगोलिक विकटताका कारण स्वास्थ्य सेवाबाट वञ्चित स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको अस्पतालबाट नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन गाउँपालिका प्रतिवद्ध रहेको अध्यक्ष धामीको भनाई छ। आगामी दिनमा पनि अस्पतालको सञ्चालन तथा व्यवस्थापनका लागि निरन्तर बजेट प्राप्त हुने उहाँले विस्वास व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.