शैल्यशिखर नगरपालिकामा डोजर चल्नसक्ने संकेत, अवैध भौतिक संरचना हटाउन निर्देशन

दार्चुला । शैल्यशिखर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा, तथा अन्य संरचना निर्धारित अवधिभित्र स्वेच्छाले हटाउन निर्देशन दिएको हो।

प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टद्वारा जारी प्रकाशित सूचना अनुसार नेपाल सरकार गृह मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन, साथै जिल्ला सुरक्षा समिति दार्चुलाको बैठक र नगर कार्यपालिकाको निर्णयअनुसार यस्तो कदम चालिएको जनाएको छ ।

सूचनामा उल्लेख भए अनुसार नगरपालिकाभित्र सरकारी तथा सार्वजनिक जग्गामा अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल लगायत भौतिक संरचनाहरू सम्बन्धित व्यक्तिले यथाशीघ्र आफैं हटाई जग्गा खाली गर्न आदेश दिएको छ । अन्यथा कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

नगरपालिकाले सर्वसाधारणलाई समयमै संरचना हटाई सहयोग गर्न आग्रह गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा जिम्मेवार बन्न आह्वान गरेको छ।

तोकिएको समयमा त्यस्ता किसिमका संरचना हटाउन अटेरी गर्ने घर जग्गाधनीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.